१५ बर्षमा पढाई र १८ बर्षमा एसएलसी पास

–श्याम स्मृत
काठमाडौ। दुवै खुटृा अशक्त तर, दिल र दिमागले सशक्त साहसी व्यक्तित्व भोजराज श्रेष्ठ । वि.सं. २०२६ साल चैत्र २१ गते सिन्धुपलान्चोकको धुस्कुन गाविस वडा नं. ८ मा जन्मेका श्रेष्ठ १० महिनाको उमेर हुंदा पोलियोले ग्रस्त भएर श्रेष्ठका दुवै खुटृा अशक्त बनेका हुन् । ५ दाजुभाइ तथा ५ दिदीबहिनी मध्येका काईलो श्रेष्ठ बाहेक श्रेष्ठका सवै दाजुभाइ तथा दिदीबहिनी सपाङ यानी शारीरिक रुपमा सक्षम नै छन्।
१५ बर्षको उमेरमा पढ्न शुरु गरेर १८ वर्षको उमेरमा एसएलसी पास गर्ने श्रेष्ठ अपाङ्गता भएका सवैको लागि प्रेरणाको स्रोत मानिन्छ । सिन्धुपलान्चोक जिल्लामा बहिराहरुको लागि सिन्धु बहिरा स्कुल स्थापना गर्न पहल गर्ने पहिला व्यक्ति श्रेष्ठ नै हुन् । दुवै खुटृा अशक्त भएपनि भलिबल, फुटबल तथा म्याराथोन खेलका संयोजक तथा प्रेरक बन्दैआएका श्रेष्ठले तीनबर्ष अगाडि मात्र मेची–महाकाली स्कुटर यात्रा पनि सफलतापूर्वक पूरा गरेर रेकर्ड कायम गरेका छन्।
समावेशी सिद्धान्तअनुसार पछाडि पारिएका, अवसर पाउन नसकेका, क्षमता प्रयोग गर्न नसकेका व्यक्ति, वर्ग र समुदायलाई सकारात्मक विभेदको नीतिअनुसार राज्यले आरक्षण वा कोटा निर्धारण गरेर सबै निकाय र संयन्त्रमा अवसर दिई सहभागी गराउनुपर्छ। यही सिद्धान्तअनुसार अपाङ्गता भएका व्यक्तिको पनि राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अपाङ्गअधिकारकर्मी समेत रहेका श्रेष्ठको जोडदार माग रहेको छ।
अमेरिका, जापान, युरोपेली देशहरू, दक्षिण अफ्रिका, दक्षिण कोरियाजस्ता समावेशी, प्रजातान्त्रिक तथा समृद्ध देशहरूले आरक्षणको व्यवस्था गरी अपाङ्गता भएका व्यक्तिलाई विधायिकामा जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेका छन्। त्यसकारण त्यहाँ बन्ने नियम कानुन अपाङ्गतामैत्री बन्नेगरेको धारणा श्रेष्ठको रहेको छ। जसले गर्दा ती मुलुकमा अपाङ्गता भएका व्यक्तिले राज्यबाट पाउनुपर्ने सेवा तथा सुविधा प्राप्त गरी आफूले रोजेको समूदायमा स्वावलम्बी र स्वाभिमानी नागरिकका रूपमा जीवनयापन गरिरहेको आफूले पाएको श्रेष्ठ भन्छन्।
अपाङहरुको लागि राज्य र सरकारले अपाङ मैत्रीको बाताबरण बनाउने जतिसुकै नारा ल्याएतापनि व्यवहारमा ल्याएको देखिदैन । अपाङता भएकाहरुलाई समाजले मात्र नभइकन राज्य र सरकारले समेत विभेद गरिरहेको अवस्था रहेको छ । अपाङ्गता हुनु कुनेै पाप होइन । पूर्वजन्मको श्राप पनि होइन । कुनैपनि बेला कुनैपनि व्यक्ति विशेष प्राकृतिक तथा अकल्पनिय भौतिक दूर्घटनाको कारण अंगभंग हुन सक्छ । अपाङ हुन सक्छ । अपाङगता हुनवाट सवै बचौ र बचाऔ । भैहालेतापनि अपाङ्गता भएका व्यक्ति–विशेषलाई घृणा र विभेद होइन, माया र सदभाव दिन नचुक्न भन्ने सामाजिक सन्देश प्रवाह गर्नमा सवैको सहयोग आवश्यक रहेको पनि श्रेष्ठले भनेका छन्।
श्रेष्ठ अगाडि भन्छन्–“अपाङ्गता भएका व्यक्तिको प्रमुख समस्या बेरोजगारी हो। सरकारले अपाङ्गता भएका व्यक्तिलाई रोजगारी सुनिश्चित गरिनुपर्छ। नत्र, जीवनयापन गर्न पुग्ने सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्छ।”
गत बैशाख १२ र २९ गते आएको विनाशकारी महाभूकम्पले देश र जनतालाई अझै थिलथिलो बनाइरहेको अवस्था रहेको छ। भयानक दुःखदायी महाभूकम्पले ९ हजार भन्दा बढीको ज्यान लियो। १८ हजार भन्दा बढीलाई घाइते तथा अपाङ्ग बनाइदिएको छ। हजारौ हजारको घरबारविहिन गरिदिएको छ। यस्तो अवस्थामा छिमेकी मुलुक भारतले महाभूकम्प गएको ५ महिना नवित्दै अघोषित नाकाबन्दी गरेर महाभूकम्प भन्दा ठूलो पीडा दिएको छ। जसवाट अपाङ्गता क्षेत्र अझ धेरै पीडित बनेको श्रेष्ठले औल्याएका छन्।
अपाङ्ग मानव अधिकारकर्मी तथा राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघका केन्द्रिय अध्यक्ष, नेपाली कांग्रेस महासमिति सदस्य तथा अपाङ्गता आन्दोलनका योद्धा एबं इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरका सचिवालय संस्थापक सदस्य भोजराज श्रेष्ठ यसको अलावा सिन्धु बहिरा बिद्यालय बाह्रबिसेको ब्यवस्थापन समितिको सदस्य,कम्युनिटी एक्सन नेपालको सचिव, अपाङ्गता भएका ब्यक्तिहरु बिरुद्ध हुने विभेद सम्बन्धी प्रधानमन्त्रीको सल्लाहकार समेत हुन्।
यसको अलावा स्त्री शक्ति नेपालको कार्यसमिती सदस्य,समाजकल्याण परिषद सदस्य, राष्ट्रीय अपाङ्ग महासंघको केन्द्रिय सदस्य, राष्ट्रीय बहिरा महासंघको राष्ट्रिय सचिव,सिन्धुपाल्चोक बहिरा संघको सचिब, रेडक्रस सर्कलको अध्यक्ष जस्ता विभिन्न महत्वपूर्ण पदहरुमा आसिन श्रेष्ठले संबिधानमा राजनितिक,सामाजिक सुरक्षा,सामाजिक न्याय,भौतिक तथा सञ्चार अपाङ्गता मैत्री,अपाङ्गता अधिकार ऐन २०७२ ल्याउने कार्यमा प्रमुख भूमिका निर्वाह गर्ने कार्य समेत गरेका थिए।
प्रकाशन मिति–२०७३ साल माघ १७ गते सोमवार।