आयुर्वेद औषधिमा लगानी असुरक्षित

काठमाडाँै, २३ काठमाडाँै । नेपालमा सञ्चालित सानाठूला ८६ बढी आयुर्वेद औषधि उद्योगका सञ्चालकले आफुहरुले गरेको लगानीको सुरक्षा नभएको गुनासो गरेका छन् ।
आयुर्वेद उद्योगमा करिब रु ९० करोडको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घका महासचिव तथा अनमोल आयुर्वेद प्रालिका सञ्चालक मानबहादुर साउदले खुला सिमानाका कारण भारतमा उत्पादन भएका औषधि सहजै नेपाली बजारमा उपलब्ध हुँदा आयुर्वेद उद्योगमा गरिएको लगानी धरापमा परेको बताउनुहुन्छ ।
सरकारले पनि स्वदेशी उद्योगलाई प्रोत्साहन नगरी भारतीय उद्योग र औषधिलाई प्राथमिकता दिएको उहाँको आरोप छ । “खुला सीमाका कारण भारतीय औषधि सहजै नेपाल भित्रने गरेको छ । भारतीय उत्पादनका लागि नेपालमा प्रचारका लागि छुट्टै खर्च गर्नुपर्दैन । भारतमै प्रचार गरे पनि नेपाललाई पुग्छ । फेरि नेपालमै उत्पादित जडीबुटी सस्तोमा भारत निर्यात गरिन्छ र महँगोमा फेरि नेपालमा आयात गरिँदै आएको छ,” साउदले भन्नुभयो ।
सरकारले नेपालमा पाइने जडीबुटीको सङ्कलन र प्रशोधन गर्न नसक्दा दोहोरो मारमा परेको सङ्घका अध्यक्ष विनोद पौडेल बताउनुहुन्छ । सगरमाथा आयुर्वेद उद्योगका सञ्चालक समेत रहनुभएका पौडेलले सरकारले यहाँ पाइने जडीबुटीको सङ्कलन र प्रशोधनका लागि केन्द्र खोलेर व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
गोरखनाथ हर्बास्युटिकलका सञ्चालक राजेन्द्र बस्नेतले सरकारले अन्य उद्योग खोल्न सहुलियत व्यवस्था गरेको भए पनि आयुर्वेद उद्योगका लागि कुनै व्यवस्था नगरेको गुनासो गर्नुभयो । उहाँले सरकारले स्वदेशी उद्योगलाई बेवास्ता गरेको र कानुनी अड्चन मात्र बनाएको आरोप लगाउनुभयो । स्वदेशमा सञ्चालित आयुर्वेद उद्योगलाई व्यवस्थित गरेर गुणस्तरीय उत्पादन गरी बजारीकरण गरे आर्थिक विकाससँगै सयाँै नागरिकले रोजगारीको अवसर पाउने सञ्चालक बताउँछन् ।
यसैबीच, नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घमा नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको चौथो वार्षिक साधारणसभाले पुनः विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा रामचन्द्र पन्थी, महासचिवमा मानबहादुर साउद, सचिवमा चन्द्रकान्त खनाल र कोषाध्यक्षमा सुमन पाण्डेलाई चयन गरेको छ । सदस्यहरुमा श्रीकृष्ण श्रेष्ठ, राजेन्द्र बस्नेत, श्यामकाजी तिमिल्सना, शम्भु अग्रवाल, दूर्गा बस्याल, महेन्द्रराज ब्रजाचार्यलाई चयन गरेको महासचिव साउदले जानकारी दिनुभयो ।