कम सुत्ने तथा बढी समय काम गर्नु खतरा
काठमाडौ । कम समय सुत्नु र बढी समय काम गर्नु मुटुको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ। दमकल, आकस्मिक चिकित्सा सेवा, रेजिडेन्ट डाक्टर तथा बढी तनावमा काम गर्ने व्यक्तिहरूले सुत्ने समय कम पाउँछन्।
जर्मनीको युनिभर्सिटी अफ बानमा यो अध्ययनका मुख्य व्यक्ति डयानिएल कुएटिङका अनुसार २४ घन्टे सिफ्टले गर्दा कम सुत्न पाउने व्यक्तिहरूमा मुटु संकुचित हुने स्वाभाविक क्षमता, रक्तचाप तथा मुटुको चालमा अस्वाभाविक वृद्धि हुन्छ।
अध्ययनमा औसत ३१.६ वर्ष आयु वर्गका २० स्वस्थ रेडियोलजिस्टलाई सामेल गरियो। तिनमा १९ पुरुष र एक महिला थिए । औसत तीन घन्टा सुत्ने हरेक सहभागीको २४ घन्टाको सिफ्टभन्दा पहिले र पछि कार्डियो भास्कुलर म्याग्नेटिक रिजोनेन्स गराइयो।
अनुसन्धाताहरूले सहभागीहरूको रगत र पिसाबको नमुना समेत संकलित गरे। रक्तचाप र मुटुको चाल पनि नापे। त्यसमा अल्पकालीन रूपमा कम सुत्ने सहभागीको रक्तचाप र मुटुको चाल बढी पाइयो।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ २३ गते आइतवार ।