प्रेममा धोका दिन लागेको भन्दै युवकव्दारा एसिड प्रहार गर्दा युवतीको मृत्यु

maitrinews

काठमाडौ। प्रेममा धोका दिन लागेको भन्दै एक युवकले एसिड प्रहार गर्दा गम्भीर घाइते भएकी पश्चिम नेपालको बुटवलमा एक युवतीको मृत्यु भएको छ । बुटवल ६ स्थित मेरिडियन होटलमा बास बस्ने क्रममा धादिङ नौबिसे १ बस्ने २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटालाई आइतबार राति एसिड प्रहार गरेका थिए। तुलसाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । एसिड तुलसाको अनुहार, टाउको र शरीरमा लागेको थियो ।

Asid prahar

सुनिल र तुलसा केही समयदेखि प्रेममा थिए । तर, तुलसाले आफूलाई बेवास्ता गरेको र अर्कै केटासँग विवाह गर्न लागेको सुनिलको अनुमान थियो । सुनिलले तुलसालाई सो होटलमा लगी नियोजितरुपमा एसिड प्रहार गरेर ज्यान लिएका हुन्।

रातको समयमा तुलसा चिच्याएपछि होटलका कामदारले सबै ढोका बन्द गरी सुनिललाई पक्राउ गरेका थिए । तुलसालाई तुरुन्तै अस्पताल लगिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार सुनिलले तुलसालाई एसिड हानेको स्वीकार गरेका छन् । आफूहरुबीच केही वर्षदेखि प्रेमसम्बन्ध रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको सुनिलले वयान दिएका छन् ।
प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।