नयाँ पुस्तामा तीन नायिकाको अग्रता
काठमाडौ । पुराना रंगकर्मी तथा चलचित्र निर्देशक बद्री अधिकारीकी एक मात्र सुपुत्री केकी अधिकारीले पछिल्लो छिमलको पुस्तामा अग्रता लिइरहेकी छन्। हुन त केकीको पुस्तामा निशा अधिकारी, प्रियंका कार्की, सुषमा कार्कीहरु पनि दौडमा रहेका छन्। यसो भएतापनि कला र कलाकारिताको रंगमा गर्भदेखि नै रंगिएकी हुनाले केकीको अनुहारमा नै कलाकारिता रहेको उनी निकटवर्तीहरुले भन्ने गरेको पाइएको छ।
आधा दर्जन भन्दा चलचित्र तथा दर्जनौ दर्जन गीतका भिडियोमा बेग्लै उपस्थिति जनाइसकेकी केकी अभिनित श्री ५ अम्बरे नामक चलचित्र उनको करियरकै माइलस्टोन चलचित्र बनेको छ। यस चलचित्रमा कुलिन नगरबधुको भूमिकामा स्वभाविक अभिनय गरेर कलाकारको छोरी हुनुको प्रमाण दिन सफल बनेकी छन्। उनै नायिका केकीकी नजिककी सखी नायिका रीमा विश्वकर्माको विवाहमा दुलही अनमाउंदा आफै विहे गरेर जान लागेको गरेर रोएको दृश्य सवैको लागि मार्मिक बनेको थियो।
रीमासंग अत्यन्त मिल्ने केकीलाई परिवारमा विवाहको प्रेसर आएको पनि बताइन्छ। केही बर्ष अझै विहे नगर्ने सोचमा रहेकी केकीको पछिल्लो चलचित्र भाग सानी भाग हो। संगीतकार चेतन सापकोटाले निर्माण गरेको यस चलचित्रमा केकीले एकसाथ चार नायकसंग अभिनय गरेका छन्। त्यो पनि कल्पनै कल्पनामा । तिमी भन दिउंसै तारा झारिदिन्छु बोलको गीतमा बाउ पुस्ताको नायक सरोज खनाल, रमेश उप्रेती देखि दाइ पुस्ताको जीवन लुइँटेल र आफूपुस्ताको सविन श्रेष्ठसंग नाँचेकी छन्।
सवै पुस्ताका नायकसंग एकसाथ एउटै चलचित्रको एउटै गीतमा अभिनय गर्न पाउनु चानचुने कुरा नभएको उनी आफैले बताएकी छन्। यता बलिउड रिटर्न नायक निखिल उप्रेतीसंग चलचित्र लुटेरामा अभिनय गरेदेखि निक्कै हौसिएकी नायिका निशा अधिकारी चलचित्र बनाउने हो भने अव लुटेरा जस्तो चलचित्र बनाउनु पर्दछ भनेर भन्न थालेकी छन्।
मल्टीप्लेक्स हलका दर्शकलाई मात्र टार्गेट गरिएका चलचित्रमा धेरै अभिनय गर्दा खासै दर्शकले आफूलाई नचिनेको तर, लुटेरा जस्तो मल्टीप्लेक्स र सिंगल दुवै हलका दर्शकलाई टार्गेट गरेको चलचित्रबाटै आफू बढी चिनिएको बताएकी छन्। गत बर्षमात्र सगरमाथाको सफल आरोहण गरेकी निशामा यो बर्ष अफ्रिकाको अग्लो हिमाल आरोहण गरेर फर्केको गौरबता पनि रहेको छ। त्यो गौरबताको साथमा सानैदेखिको कपाल मुण्डन गर्ने रहर पनि अमेरिका आउने क्रममा पूरा गर्न पाएकोमा निक्कै उत्साहित बनेकी छन्।
मौका तथा अवसर मिलेमा चलचित्र निर्देशन गर्ने लक्ष्यमा रहेकी निशालाई पनि केकीलाई जस्तै घरपरिवारले विवाहको मामिलामा निक्कै प्रेसर दिन थालेको बताइन्छ। असफल प्रेमको विविध श्रृंखलाको टेष्ट म्याचबाट रनआउट बनेकी निशा यसतर्फ कुनै सोचमा देखिएकी छैनन्। प्रेम विवाह गरेर अमेरिकामा नै घरजम गरेर केही समय बसेकी निशाकै प्रिय सखी नायिका प्रियंका कार्की डिभोर्स पश्चात नेपाल फर्केर नेपाली चलचित्रमा नै व्यस्त बनेकी छन्।
नेपाल फर्केयता दर्जनौ चलचित्रमा अभिनय गरेकी प्रियंकाका प्राय चलचित्र हिट बनेका छन्। महानायक राजेश हमालको जस्तै दुवै आँखा हल्का डेढो देखिन्छ। डेढो आँखा हुनेहरु बढी सफल हुन्छ भनेजस्तै महानायक हमालजस्तै उनी पनि सफलताको शिखरमा पुग्ने उनका निकटवर्तीहरुको विश्वास रहेको छ। सफल कलाकारका धेरै विवाद आउने गर्छन् भनेजस्तै प्रियंकाका पनि धेरै विवाद देखिएतापनि ती विवादबाट मुक्त भएर अगाडि बढ्न सक्नु नै उनको सफलता हो।
प्रकाशन मिति–२०७३ साल माघ २५ गते मंगलवार ।