चन्दलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

maitrinews

काठमाडौं । प्रचण्ड सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ।
सिलवालले आज दिउँसो आफूलाई आर्इजीपी बनाउनुपर्ने मागसहितको रिट अदालतमा दायर गर्नुभएको हो।
मन्त्रिपरिषद् बैठकले आज बिहान तेस्रो वरियतामा रहेका चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि एक नम्बर वरियतामा रहेका सिलवाल न्याय खोज्दै अदालत पुग्नुभएको हो।
सिलवालको रिटमा आइजीपीको विषय सार्वजनिक सरोकारको भएको उल्लेख छ । उहाँले मन्त्रिपरिषदको अधिकारमा बाह्य राजनीतिक पार्टीको हस्तक्षेप देखिएको भन्दै नियुक्तिप्रति असन्तुष्टि जनाउनुभएको छ ।
उहाँले नेपाल प्रहरीको कार्यसम्पादन, मूल्यांकन, वरिष्ठतालगायत आधार विपरित चन्दलाई आइजीपीमा नियुक्ति गरिएको प्रति समेत आपत्ति जनाउनुभएको छ । ।
डिआइजी सिलवालको रिटमा नेपाल प्रहरीको नेतृत्वमा आफ्नै आवश्यक पर्ने देखिएकाले मन्त्रिपरिषद्को निर्णय रोक्न अन्तरिम आदेश जारी गरी पाउँ भन्ने उल्लेख छ। यसैबीच, सर्वोच्च अदालतले आजै सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै चन्दलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सो आदेश दिएको हो ।