हवाईसेवामाथि ईयूले लगाएको प्रतिबन्ध हटाउन आग्रह

maitrinews

काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उहाँकै कार्यालयमा भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली सङ्घको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गर्नुभयो ।

युरोपेली सङ्घको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउनु हुँदै अध्यक्ष जङ्करले अनुरोध गरिएका क्षेत्रमा सहयोग बढाउने सम्भावनाबारे विचार गरिने आश्वासन दिनुभयो ।

नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा इयूले नेपाली वायुसेवालाई लगाएको प्रतिबन्ध हटाउन पनि परराष्ट्रमन्त्री महतले अध्यक्ष जङ्करलाई अनुरोध गर्नुभयो । अध्यक्ष जङ्करले नेपाल सरकारले उपलब्ध गराएका तथ्यमा आधारित भएर सो विषयमा सकारात्मक तरिकाले हेरिने पनि डा महतलाई आश्वासन दिलाउनुभयो ।