कमल थापाले घोक्रेठ्याक लगाएर लखेटेपछि राणाको राप्रपा अध्यक्षमा उम्मेद्वारी घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले हालका अध्यक्ष कमल थापाले पार्टीलाई ‘मण्डलेतन्त्र’ले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मद्वारी घोषणा गर्नुभएको हो ।
‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म मागे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसकयो, तपाईँले पाउनुहुन्न भनेर थर्काउन थाले,’ उहाँले, ‘के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँ , अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दबाब र कसैको भनसुनमा उम्मेद्वारी दिइरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु ।’
उहाँले आफूलाई शनिबारको बन्दसत्रमा बोल्न समय नदिएको समेत आरोप लगाए । ‘म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घोक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यही हो उदारवाद ? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा ?’ यसरी आत्मसम्मानमाथि चोट पुग्ने खालको आदेश दिने कमल थापाको के म गुलाम हो ? यसरी मण्डले प्रवत्तिले पार्टी चल्दैन र लाखौ कार्यकर्ताको भविष्य अन्धकार बन्छ ।’
उहाँले आफुलाई धम्की आइरहेको भन्दै आफ्नो जीवन सुरक्षा गरिदिन प्रहरी प्रशासनलाई आग्रह समेत गर्नुभएको छ ।