एमालेको मधेश केन्द्रित मेची—महाकाली अभियानमा भाँजो नहाल्न चेतावनी

maitrinews

 

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले सुरु गर्न लागेको ‘मेची–महाकाली मधेस केन्द्रित अभियान’ मा अबरोध नपुर्यान आग्रह गर्दै कसैले अवरोध खडा गरे प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

यही फागुन २१ गतेदेखि सुरु हुने मधेस केन्द्रित अभियानका लागि  स्थापना गरिएको छुट्टै कार्यालयको  मंगलबार एमाले मुख्यालय धुम्वाराहीमा ‘मेची–महाकाली राष्ट्रिय अभियान’ को कार्यालय उद्घाटन गर्दै ओलीले  अभियानका क्रममा कसैले अवरोध गर्न खोजे चुप लागेर नबस्ने चेतावनी पनि दिनुभयो । ‘हामीले फागुन २१ देखि चैत ४ सम्म मेची–महाकाली राष्ट्रिय अभियान गर्ने पूर्व घोषणा गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘यो अवधिमा कसैले कार्यक्रमलाई अवरोध गर्ने, असफल पार्ने, भाँजो हाल्ने चेष्टा गर्छ भने एमाले चुप लागेर बस्दैन ।’
उहाँले सबै संघ–संस्था, त्यससँग सरोकार राख्ने व्यक्ति, राजनीतिक दलहरु कसैलाई पनि अवरोध नगर्न आग्रह पनि गर्नुभयो । ‘यो अभियान कसैका विरुद्धमा होइन,’ उहाँले भन्नुभयो, ‘एमालेका विरुद्ध गलत भ्रम फैलाउनेहरुका विरुद्धमा हो । त्यसैले गलत नियतका विरुद्धको अभियान भएकाले सबै राष्ट्रवादी शक्तिहरुलाई यसका पक्षमा उभिन आग्रह गर्छु ।’
उहाँले अभियान राजमार्ग केन्द्रित हुने भन्दै त्यसले हिमालदेखि पहाड हुँदै तराईसम्मका जनतालाई जोड्ने पनि विश्वास गर्नुभयो । ‘यो सबैको कार्यक्रम हो,’ उहाँले भन्नुभयो, ‘सबै वडावडादेखि यो अभियान सफल बनाउन लाग्नुहोला । मेरो आग्रह छ ।’

‘एमालेको मधेस केन्द्रित अभियान मधेसी पार्टी विरुद्ध नभएर राष्ट्रिय एकताका लागि हो,’ भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो पूर्व निर्धारित कार्यक्रममा कसैले भाँजो नहालौं । यदि कसैले भाँजो हाल्छ भने एमालेले त्यसको सशक्त प्रतिकार गर्छ ।’

उहाँले नगरपालिका, वडा र गाविस तहका सबै कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा सभा जुलुस गर्न र पार्टीले निर्धारण गरेको कार्यक्रममा पनि सहभागी हुन समेत आव्हान गर्नुभयो ।

‘हाम्रो कार्यक्रम मधेसमा फैलाइएको विभिन्न प्रकारको भ्रमहरु चिर्नका लागि हो,’ उहाँले भन्नुभयो, ‘यसमा सबैको सहभागीताको अपेक्षा गर्दछौं ।’