सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

maitrinews

 

काठमाडौँ, १० फागुन,५ः३६ अपरान्ह् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ ।

बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु अनुपस्थित रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आब्हान गर्नुभएको बैठकमा मोर्चाको मागबमोजिम संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक त्यही रुपमा छलफलमा लाने वा त्यसमा सहमतिका आधारमा परिमार्जन गर्ने विषयमा छलफल भइरहेको छ ।

बैठकबाट बाहिरनुभएका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी वैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति तोकिनु सकारात्मक भएपनि त्यसलाई निर्बिध्नतापूर्वक सम्पन्न गर्न मोर्चा र थारु, जनजाति समूहलाई सहमतिमा ल्याउने गरी संंविधान सशोधन हुनुपर्ने बताउनुभयो ।