चोरी भएका ११ मोटरसाइकल जिम्मा

काठमाडौँ, ११ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाले चार वर्ष पहिलेदेखि चोरी भएका ११ मोटरसाइकल भेट्टाएर आज सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको हो । मोटरसाइकल फिर्ता पाउनेमा गणेशकुमार श्रेष्ठ, सुजन लामा, हिमाल पुन, नरबहादुर नेपाल, चन्द्रबहादुर रानाभाट, कपिल बुढाथोकी, राजीव ढुङ्गाना, युद्धप्रसाद खतिवडा र कमल लामा छन् ।
महाशाखाका प्रमुख प्रकाश अर्यालले सम्बन्धित व्यक्तिलाई मोटरसाइकल जिम्मा लगाउँदै आफ्नो सवारी साधनको सुरक्षा आफैँले गर्नुपर्ने बताउनुभयो । महाशाखामा मासिक दुई दर्जनभन्दा बढी सवारीसाधन हराएको उजुरी पर्ने गरेको जनाइएको छ । रासस