सेवानिवृत्त कर्मचारीलाई राहत: उपदान र बिदाको रकम असार २५ सम्म भुक्तानी हुने
काठमाडौँ, २० असार । सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीहरूले पाउने विभिन्न सुविधाबापतको रकम भुक्तानीका लागि सरकारले समय थप गरेको छ। महालेखा नियन्त्रक कार्यालयले आगामी असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी सम्पन्न गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) हरूलाई निर्देशन दिएको छ।
कार्यालयले एक परिपत्र जारी गर्दै अवकाश प्राप्त कर्मचारीहरूले पाउने उपदान, सञ्चित बिदा र औषधीउपचार खर्चबापतको रकम ढिलो नगरी उपलब्ध गराउन भनेको हो।
यसअघि विनियोजित बजेट र भुक्तानीको अख्तियारी असार २० गतेसम्मका लागि मात्र तोकिएको थियो। तर, धेरै कर्मचारीहरूको भुक्तानी प्रक्रिया बाँकी रहेको र आर्थिक वर्षको अन्त्यमा सेवाग्राहीलाई मर्का नपरोस् भन्ने उद्देश्यले भुक्तानीको अवधि ५ दिन थप गरिएको महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिनुभयो।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ३० को उपनियम (२) बमोजिम भुक्तानी निकासा गर्ने अख्तियारीको अवधि थप गर्ने निर्णय असार १९ गते गरिएको थियो। सोही निर्णयका आधारमा अब सेवानिवृत्त कर्मचारीले आफ्ना सुविधाहरू प्राप्त गर्न केही थप समय पाएका हुन्।
यो निर्णयसँगै देशभरका सरकारी निकायमा कार्यरत रहेर अवकाश पाएका कर्मचारीहरूले आर्थिक वर्षको अन्त्यमा झन्झटमुक्त ढङ्गले आफ्नो पाउनुपर्ने रकम प्राप्त गर्ने सुनिश्चितता भएको छ।