राष्ट्रियसभामा बाढीपहिरो र सडक अवरोधको चर्चा: राजमार्ग तत्काल खुलाउन र ‘बेपत्ता गाडी’ को खोजी गर्न माग
काठमाडौँ, २० असार । मनसुन सक्रिय भएसँगै देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएर जनजीवन अस्तव्यस्त बनेपछि राष्ट्रियसभाका सांसदहरूले सरकारको कडा ध्यानाकर्षण गराएका छन्। शनिबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाढीपहिरोले विच्छेद भएका सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेका हुन्।
सांसदहरूले सडक अवरोधका कारण बिरामीले अस्पताल पुग्न नपाएको र मुख्य राजमार्गहरूमा यात्रा ‘मृत्युको पासो’ जस्तै बनेको भन्दै चिन्ता व्यक्त गरे।
सांसद गोमादेवी तिमिल्सिनाले मुग्लिन–नारायणगढ–काठमाडौँ खण्ड र सुदूरपश्चिमका डोटी तथा बैतडीमा भइरहेका शृङ्खलाबद्ध सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले वर्षायाममा सडकका अवरोध तत्काल हटाएर नागरिकको यात्रा सुरक्षित बनाउन माग गर्नुभयो।
त्यसैगरी, सांसद दुर्गा गुरुङले कर्णालीका विभिन्न जिल्ला जोड्ने सडकहरू बाढीपहिरोले थुनिँदा बिरामीलाई अस्पताल पुर्याउन समेत असम्भव भएको बताउनुभयो। उहाँले बर्सेनि दोहोरिने यो समस्याको टालटुले उपचारभन्दा पनि दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो।
सुर्खेत–कालीकोट रुटमा चल्ने सार्वजनिक यातायात दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सांसद नरबहादुर विष्टले सदनमा आवाज उठाउनुभयो। उहाँले सो दुर्घटना र बेपत्ता यात्रुहरूको खोजी कार्यमा तीव्रता दिनुका साथै घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो।
कृषि र खानेपानीका समस्या पनि आजको बैठकमा प्रमुखताका साथ उठेका छन्। सांसद नारायणदत्त मिश्रले नेपालमा रासायनिक मल (डिएपी) को खरिद मूल्य भारतको तुलनामा किन महँगो भयो भन्दै प्रश्न उठाउनुभयो। उहाँले यसमा कुनै अनियमितता भएको छ कि भन्दै छानबिनको माग गर्नुभयो।
यता, काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण पुनः ठप्प भएको विषयमा सांसद युवराज शर्माले आपत्ति जनाउनुभयो। उहाँले राजधानीबासीलाई नियमित खानेपानी उपलब्ध गराउन सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा सांसद सुरेशकुमार आले मगरले भने सरकारको कार्यशैलीप्रति फरक शैलीमा असन्तुष्टि पोख्नुभयो। उहाँले संसद्मा सांसदहरूले पटक–पटक उठाएका जनचासोका प्रश्नहरूको सरकारले कुनै जवाफ नदिएको र सुनुवाइ नगरेको भन्दै आज आफूले कुनै पनि जिज्ञासा नराख्ने बताएर विरोध जनाउनुभयो।
आजको बैठकमा सांसदहरूले विपद् व्यवस्थापनमा सरकारको उपस्थिति फितलो देखिएको भन्दै सक्रिय हुन सचेत गराएका छन्।