बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ: सिक्टाको नहर पुगेका क्षेत्रमा मात्र धमाधम राेपाइँ, आकासे पानी नपर्दा किसान चिन्तित

बाँके, २० असार । असारको तेस्रो साता बित्न लाग्दा पनि बाँके जिल्लामा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। पर्याप्त वर्षा नभएको र सिँचाइ सुविधाको अभावका कारण हालसम्म जिल्लामा १८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

जिल्लाका अधिकांश किसान खेतीका लागि अझै पनि आकासे पानीकै भरमा रहेकाले रोपाइँ सुस्त भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी एवं वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पर्याप्त वर्षा नहुँदा किसानहरूले ब्याडमा बीउ तयार भए पनि खेतमा रोप्न पाएका छैनन्। “जिल्लामा असारको दोस्रो सातादेखि रोपाइँ सुरु भएको हो, तर शुक्रबारसम्म १८ प्रतिशत मात्र प्रगति देखिएको छ,” शर्माले भनिन्, “अहिले रोपाइँ भएका क्षेत्रहरू पनि अधिकांश भूमिगत जलस्रोत र सिक्टा सिँचाइको पहुँच भएका ठाउँहरू हुन्।”

बाँकेमा कुल ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३३ हजार ७८० हेक्टरमा धान खेती हुँदै आएको छ। ढिलो वर्षा हुँदा मोटो धान लगाउने किसानलाई खासै समस्या नभए पनि मसिनो र मध्यम जातका धान खेती गर्नेहरू भने चिन्तित बनेका छन्।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नहर पुगेका क्षेत्रहरूमा भने रोपाइँ धमाधम भइरहेको छ। कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडाहरूमा नहरको पानीले रोपाइँ गर्न सहज भएको छ।

आयोजनाका सूचना अधिकारी मनोज शाहका अनुसार अहिले रोपाइँको सिजनलाई मध्यनजर गर्दै पूर्वी र पश्चिमी दुवै नहरमा नियमित पानी छोडिएको छ। “हामीले जिल्लाको ४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेका छौँ, जसमध्ये हालसम्म २४ हजार हेक्टर क्षेत्रका किसानले सुविधा पाइरहेका छन्,” शाहले जानकारी दिए।

बाँकेका नरैनापुर, डुडुवा र खजुराका कतिपय क्षेत्रमा भने अझै पनि सिँचाइको उचित प्रबन्ध नहुँदा किसानहरू खेत जोतेर वर्षाको प्रतीक्षामा बसिरहेका छन्। समयमै रोपाइँ हुन नसके धानको उत्पादनमा समेत ह्रास आउने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्।