काठमाडौँ ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित : युवा नेतृत्व कार्यवाहक प्रमुख सुनिता डंगोलमा  मातृत्वको संगम 

काठमाडौँ,  असार २० । काठमाडौँ महानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ । केवल युवा नेतृत्वको सक्रियता मात्र नभई बालबालिकाप्रतिको अभिभावकीय मातृत्व र संवेदनशीलतालाई केन्द्रमा राख्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यो महत्त्वपूर्ण उपलब्धि हासिल गराउनुभएको हो ।

शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक विशेष समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले कार्यवाहक प्रमुख डंगोललाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र हस्तान्तरण गर्नुभयो । सोही अवसरमा कार्यवाहक प्रमुख डंगोलले महानगरका सबै वडालाई ‘पूर्ण खोप सुनिश्चित वडा’ को प्रमाण पत्र प्रदान गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा स्थानीय सरकारको पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “खोप बालबालिकाको जन्मसिद्ध अधिकार हो । आफ्ना हक र अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई जोखिमबाट जोगाउन अभिभावक र सरकार दुवैले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । बाल मृत्युदर र अपाङ्गता घटाउन खोप सबैभन्दा प्रभावकारी माध्यम भएकाले यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान अतुलनीय छ ।”

महानगरको स्वास्थ्य विभागका अनुसार यस अभियानलाई सार्थक बनाउन विसं २०८२ जेठ २८ गतेदेखि व्यापक ‘घरधुरी सर्वेक्षण’ सुरु गरिएको थियो । सो सर्वेक्षणका क्रममा शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोपको मात्रा पूरा गराएपछि महानगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

काठमाडौँ महानगरभित्र जन्मेदेखि ५ वर्षसम्मका ८९ हजार ५६ जना बालबालिका लक्षित समूहमा रहेका छन् । सर्वेक्षणका क्रममा १५ महिनासम्मका ४ हजार ८ सय, १६ देखि २३ महिनासम्मका ३ हजार ८६८ र २४ महिनादेखि ५ वर्षसम्मका ११ हजार ३८३ बालबालिकासँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको खोपको अवस्था पहिचान गरिएको थियो ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीका अनुसार असार ३ गतेदेखि ६ गतेसम्म सबै वडाको प्रमाणीकरण (भेरिफिकेसन) सम्पन्न भएपछि जिल्ला खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चित पालिकाका रूपमा प्रमाणीकरण गरेको हो ।

समारोहमा स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले नेपालमा विफर उन्मूलनदेखि पछिल्लो समयका संक्रामक रोग नियन्त्रणमा खोपको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्नुभयो । त्यस्तै, स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख सागरप्रसाद घिमिरेले खोपकै कारण पोलियो र अन्य प्राणघातक रोगबाट मानव सभ्यतालाई जोगाउन सम्भव भएको बताउनुभयो ।

काठमाडौँलाई यसअघि २०७४ साल पुस महिनामा पहिलो पटक पूर्ण खोप घोषणा गरिएको थियो । यसपटकको घोषणाले खोपको दिगोपना र कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुने सुनिश्चिततालाई पुनः पुष्टि गरेको छ । कार्यक्रममा पूर्ण खोप अभियानमा उत्कृष्ट योगदान पुर्‍याउने स्वास्थ्य विभागकी खोप फोकल पर्सन मैयाँ सैँजुलाई समेत सम्मान गरिएको थियो ।