औषधिको नाममा लागुऔषधको व्यापार–तन्नेरी जमात कुलतको शिकार

काठमाडौ । हिजो आज टिनएजका युवा युवतीहरु धुम्रपान, मद्यपानमा बढी देखिएका छन्। त्यो भन्दा पनि बढी उनीहरु लागु औषधीको सेवनमा लागेको पाइएको छ । प्लस टु पढ्ने विद्यार्थीहरु बढी लागु औषधीको दुव्र्यसनीमा फसेको एक अध्ययनले देखाएको छ। दुखाई कम गर्ने औषधी ट्रमाडोल लागुऔषधको लत बसेका विद्यार्थीहरुले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको भेटिएको छ । राजधानीका विभिन्न कलेज तथा स्कुलमा पढ्ने विद्यार्थीहरुले केही औषधी पसलहरुमा गई यस्ता खाले औषधी प्रयोग गर्ने गरेको पाइएको छ।

Drug Addiction 1

चावहिलस्थित बागेश्वरी मन्दिर नजिक रहेको बागेश्वरी फर्मा यस्तै औषधि विक्री गरेको आरोपमा कारवाहीमा समेत परेको छ। विना कुनै डाक्टरको प्रेस्किप्सन विना विद्यार्थीहरुले निर्वाद रुपमा औषधिको नाममा त्यस्ता लागूजन्य औषधि खरिद गर्ने गर्दथे । दुई सय रुपैयाँमा तीन प्रकारका ट्याब्लेटहरु किन्न पाएपछि विद्यार्थीहरु खुरुक्क किन्ने र फर्किन्छन् । एक दिन १८ वर्षका एक युवक उक्त पसलमा औषधी किन्न आए र औषधी किनेर फर्किने बित्तिकै उनी लागुऔषध नियन्त्रण ब्युरोको फन्दामा परे । उनले बोकेर ल्याएको औषधि ‘क्लोनोज स्पासमो’ नामको दुखाईमा प्रयोग हुने औषधि थियो, जुन औषधी डाक्टरको सिफारिस विना प्रयोग गर्न पाइँदैन। यो औषधी लागुऔषध दुव्र्यसनीहरुका लागि गतिलो नशा बन्ने गरेको प्रहरीको भनाइ छ।
अवैध रुपमा औषधी बिक्री गरेको आरोपमा ब्युरोको टोलीले केही दिन अगाडि मात्र बागेश्वरी फर्माकी सुजाता केसीलाई पनि पक्राउ र्गयो । पक्राउ परेका ती युवकले विगत एक वर्षदेखि त्यही औषधि लागुऔषधका रुपमा प्रयोग गर्न थालेको प्रहरीलाई बताए । जसलाई बागेश्वरी फर्माले नियमित ग्राहक बनाईरहेको थियो । पक्राउ परेका ती युवकले भने ‘बिहान १० बजेभन्दा अगाडि र बेलुका पाँच बजेपछि हामी जस्ता थुपै्रलाई पसलेले यो औषधि बिक्री गर्छन् । म पनि कलेज छुटेपछि यहीँ आउँछु।’ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गैरकानुनी तरिकाले लागुऔषध दुव्र्यसनीहरुलाई औषधि बिक्री गर्ने पसलहरुमा बेला बेला छापा मार्ने गर्छ तर लागु औषध नियन्त्रणमा भने खासै प्रगति हुने गरेको छैन।

ब्युरोको टोली केही दिन अघि चाबहिलकै जोशी फार्मेसी अगाडि गएर बस्यो । पूर्व सूचना अनुसार पुगेको टोलीलाई औषधि पसलमा देखिएको दृश्यले चकित बनायो । भर्खरका युवाहरु हातमा दुई सय रुपैयाँ बोकेर आइरहेका थिए र केही ट्याब्लेटहरु किनेर लैजाँदै थिए ।

करिब २० मिनेटको बीचमा १२ जना त्यसरी नै आएर दुई सय बुझाउँदै ट्याब्लेट लिँदै जान थाले । ब्युरोको टोलीले २० मिनेटभन्दा बढी धैर्य गर्न सकेन र ट्याब्लेट किन्न आउनेमध्ये एकजनालाई नियन्त्रणमा लिएर औषधि पसलमा पुग्यो । औषधि दिनुको कारण र बिक्री गरेको बिल खोज्दा पसले आत्तिए । उनले औषधिका नाममा युवाहरुलाई लागुऔषध बेचिरहेका थिए । ट्रामाडोल नामको ट्याब्लेट बिक्री गरिरहेको अवस्थामा सुन्दरकाजी जोशी र नुच्छेलाल श्रेष्ठ पक्राउ परे।

Drug Addiction 2

उनीहरुले एक सय रुपैयाँको औषधि लागुऔषध दुव्र्यसनीहरुलाई तीन सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको भेटिएको ब्युरोले जनाएको छ। त्यस्तै चाबहिलको चुच्चेपाटीस्थित रुपन्देही ड्रग हाउसले पनि डाक्टरको सिफारिस बिना नै लागुऔषधको रुपमा विभिन्न औषधि बिक्री गर्ने गरेको प्रहरीको भनाई छ । औषधिको नाममा लागुऔषध बेचिएको आरोपमा उक्त औषधि पसलका सञ्चालक रामबहादुर केसी पक्राउ परे।

त्यस्तै भीमसेनगोलास्थित शेरावली पोलिक्लिनिकबाट पनि ब्युरोको टोलीले ओपिडोल, स्पास्मो र ट्राफ्लास नामको औषधि अवैध रुपमा बिक्री गरेको भेटेपछि ती पसलका सञ्चालकलाई पक्राउ ग¥यो । डाक्टरको सिफारिस विना नै अवैध रुपमा बिक्री गर्न राखिएको करिब १ हजार ट्याब्लेट औषधिसहित रोशन सापकोटा केही समय अघि पक्राउ परे।

ब्युरोको टोलीले बरामद गरेको ओपिडोल, स्पास्मो, ट्राफालास, ट्रमाडोल नामका ट्याब्लेटहरु औषधि नै हुन् । तर, यी औषधिहरु डाक्टरको सिफारिस बिना बिक्री वितरण गर्न पाइँदैन। तर, लागुऔषध दुव्र्यसनीहरुले विभिन्न प्रकारका तिनै ट्याब्लेटहरु लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाईएको छ । ब्युरोका अनुसार औषधिका नाममा कैयौं युवाहरुलाई लागुऔषध बेचिँदैछ, जसले समाजलाई सखाप बनाएको छ।

औषधिका नाममा खुलेआम लागूऔषधको कारोवार हुनु एकातिर अत्यन्त समस्याको रुपमा देखिएको छ भने, अर्कोतर्फ यस्ता औषधि आवश्यक पर्ने विरामीहरुलाई चाहेको बेलामा उपलव्ध नहुनाले थप समस्या पैदा भएको छ। तसर्थ, यस्ता औषधिको विक्रीमा डाक्टरको प्रस्क्रिप्सनको अनिवार्यता गर्नु र गराउनु आवश्यक छ।
प्रकाशन मिति–२०७३ साल फागुन १४ गते शनिवार ।