स्थानीय तहको पुनर्संरचना प्रतिवेदन पहिचान समाप्त गर्ने षडयन्त्र : श्रेष्ठ

maitrinews

 

काठमाडौँ, फागुन १५ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँको फर्पिङमा शनिवार भएको संङ्घीय समाजबादी फोरम दक्षिणकाली नगर समिति गठन गरेको छ । उक्त भेलाले बालानन्द पौडेलको नेतृत्वमा गठित गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सीमा तथा सङ्ख्या निर्धारण आयोगले दिएको प्रतिवेदनको आधारमा सरकारले दक्षिणकाली नगरपालिकालाई किर्तिपुर नगरपालिकामा गाभ्ने सुझावको भत्र्सना गरेको छ । भेलाले उक्त कदम दक्षिणकाली नगरबासीहरुको हितमा नरहेकोले त्यसलाई फिर्ता लिन माग गर्नुका साथै यस क्षेत्रको ऐतिहासिक पहिचान कायम हुने गरी दक्षिणकाली नगरपालिकालाई यथावत कायम गर्नका लागि दक्षिणकाली नगरपालिका बचाउ सङ्घर्ष समिति गठन गरी आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको छ । ससफो, नेपालले यसका लागि यस क्षेत्रका नगरिक समाज, बुद्धिजीबी, राजनीतिक दलहरूसँग सहयोग र सहकार्यको अपिल गर्दै आन्दोलन अगाडी बढाउन सम्पूर्ण नगरबासीहरूमा अपिल गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि ससफो, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको केन्द्रिय तहबाट पनि दक्षिणकाली, शंखरापुर लगायतका नगरपालिकाहरू यथावत राख्न सरकारलाई दबाव दिने बताउँदै देश सङ्घीयतामा गइ सकेको परिप्रेक्ष्यमा नेवाः राज्यभित्रको नगरपालिका तथा गाउँपालिकाको पुनर्संरचना यहाँका आदिवासीहरूको पहिचान स्थापित हुने गरी प्रदेशले नै गर्न पाउनु पर्ने बताए । अहिले प्रदेशको क्षेत्राधिकार मिचेर केन्द्रले नै शंखरापुरलाई कागेश्वरीमा, दक्षिणकालीलाई किर्तिपुरमा गाँभ्नु सरकारको एकात्मकतावादी सोच मात्र नभई ऐतिहासिक नेवाः वस्तिहरूको पहिचान समाप्त गर्ने षडयन्त्र समेत भएको बताए । उनले नेवारहरूको आदिभूमी बनेपा, धुलिखेल जस्तो तुलनात्मक रूपमा विकसित नगरमा ३१,००० बाट नगरपालिका बन्ने तर त्यो भन्दा अविकसित दक्षिणकाली, शंखरापुर, चम्पापुर—थेच्वः, हरिसिद्धी—थैव, सूर्य विनायक, चाङ्गु नारायण आदि स्थानमा ६०,००० जनसङ्ख्या चाहिने गरी दोहरो मापदण्ड बनाउनुको मुख्य कारण नेपालका शासक वर्गको नेवारहरूलाई नगरपालिकाको नेतृत्वबाट विस्थापित गर्ने नश्लवादी चिन्तन भएको बताए ।
उनले वर्तमान सरकारले व्यवस्थापिका संसदमा आफैले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई समेत सहमतिका आधारमा परिमार्जन सहित पारित नगरी २०७४ साल बैशाख ३१ गते स्थानीय निर्वाचन घोषणा गरेकाले देशमा पुनः द्वन्द्व बढ्ने मात्र होइन देशलाई झनै अस्थीरता र अनिश्चितताको दिशामा लगेको बताउँदै प्रतिवेदनमा स्थानीय तह मात्र निर्धारण गरीे स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नगरेको भन्दै यो मान्य हुन नसक्ने बताए । उनले यस्तो अधुरो, अपुरो, अवैज्ञानिक, विभेदकारी र गलत मापदण्डमा आधारित प्रतिवेदनको आधारमा जवर्जस्ति स्थानीय तहको निर्वाचन गराए देश रणभूमिमा परिणत हुने बताए ।
उनले कार्यक्रममा नेपालका पुराना पार्टीहरूले अगाडी सारको लोकतान्त्रिक समाजवाद, वहुदलीय जनवाद आदि एकात्मक राज्य प्रणालीमा आधारित भएकाले नेपाल जस्तो वहुराष्ट्रिय मुलुकका लागि काम नलाग्ने सिद्धान्त भएको बताउँदै पार्टीले अगाडी सारेको नेपाली क्रान्तिको सिद्धान्त सङ्घीय समाजवादले मात्र नेपाललाई समतामुलक, विभेदमुक्त र एकाइसौँ शताब्दीको समृद्ध मुलुक बनाउन सक्ने बताए । उनले सङ्घवाद र समाजवादलाई आदर्श मान्ने सबै शक्तिहरू ढीलो चाँडो पार्टीमा एकीकृत र समाहित हुँदै जाने कुरा पनि बताए ।
ससफो, नेपालका काठमाडौँ जिल्ला सदस्य रञ्जित प्रधानले सञ्चालन गरेको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य द्वय कृष्ण वहादुर घःजु र रमेशचन्द्र प्रधानले नवगठित समितिलाई सफलताको शुभकामना व्यक्त गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश, जनता र समाज सेवामा लाग्न निर्देशन दिए । उक्त कार्यक्रममा जिल्ला अध्यक्ष मनरत्न शाक्यले नवगठित समितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।
सङ्घीय समाजवादी फोरम, नेपालको दक्षिणकाली नगर समितिका पदाािधकारी तथा सदस्यहरू निम्नानुसार रहेका छन्ः
अध्यक्षः पुरुषोतम बलामि,
उपाध्यक्षः किरण महर्जन,
सचिवः सन्तोष महर्जन,
कोषाध्यक्षः अजय महर्जन,
सदश्यहरूमा हरिकृष्ण श्रेष्ठ, नविन महर्जन, सुशिल श्रेष्ठ, सुरज बलामि, रवि बलामि, बुध्द तामाङ्ग, आशिष बलामि, अनिश श्रेष्ठ, महेश रञ्जितकार, सुनिल महर्जन, रामकृष्ण महर्जन, सुजन महर्जन, रोजित महर्जन, सौगात बलामि, आशिष घिमिरे, रोमन महर्जन र जनम बलामि ।