संविधान कार्यान्वयन गर्न तीनवटै चुनाव अपरिहार्य ः उपराष्ट्रपति पुन

maitrinews

 

फलेवास (पर्वत) २४ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले सात दशक लामो सङ्घर्षपछि प्राप्त संविधानको सफल कार्यान्वयनका लागि तीनै तहको चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

सामुदायिक रेडियो दिदीबहिनीले सदरमुकाम कुश्माबजारमा आयोजना गरेको नवौ पश्चिमाञ्चलस्तरीय महिला महोत्सवलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “अबको ११ महिनामा तीनवटै तहको चुनाव सम्पन्न गर्नुपर्ने हुन्छ ।”

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनपछि मात्र मुलुक आर्थिक समृद्धिको दिशातर्फ लाग्ने बताउँदै संविधान कार्यान्वयनलाई पहिलो प्राथमिकता दिनुपर्दछ भन्नुभयो ।

वैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको चुनावले आम नेपालीमा खुसियाली छाएको बताउँदै उहाँले उक्त निर्वाचनलाई उत्सवको रुपमा सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उद्घाटनपछि उपराष्ट्रपति पुनले वृद्धवृद्धा, एकल महिला, उत्कृष्ट कृषक, उद्यमी तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री र पञ्चेवाजा वितरण गर्नुभयो ।

सो अवसरमा सांसद प्रकाश ज्वाला, अर्जुनप्रसाद जोशी र कल्पना चापागाईले समसमायिक राजनीतिका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

फागुन ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, वतृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय नृत्य, भजन तथा पञ्चेवाजा प्रतियोगितालगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।