मधेस जलिरहेको छ, राज्य मूकदर्शक बनिरहेको छ : सत्यनारायण मण्डल

काठमाडौँ । सप्तरी घटनापछि मधेसी मोर्चाले प्रदेश नम्बर दुईमा आतंक मच्याइरहेका बेला एमालका मधेसी नेताले भने गृहयुद्धको तयारीमा मोर्चाका नेता लागेको आरोप लगाएको छ । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर दुई इञ्चार्ज सत्यनारायण मण्डलले मधेसी मोर्चा गृहयुद्धको तयारीमा जुटेको आरोप लगाउनु भएको हो । अहिले एमाले नेताका घर, शैक्षिक संस्था, उद्योग–व्यवसामा छानिछानि मोर्चाका नेता–कार्यकर्ताले आक्रमण गर्ने र भौतिक संरचनाको ध्वस्त बनाउने हर्कत गरेको उनको अरोप छ । ‘कार्यकर्ताको घरमा छानीछानी मोर्चाका नेता–कार्यकर्ताले तोडफोड गर्दा प्रहरी भने मूक दर्शक भनेको छ,’ उहाँले भन्नुभयो, ‘मोर्चाले मेधसमा गृहयुद्ध चाहेको छ, राज्य चुपचाप छ ।’
मण्डलले अहिले सप्तरी, सिराहलगायतका जिल्लामा मधेसी मोर्चाका कार्यकर्ताले राज्य आतंक सिर्जना गरिरहेको आरोप पनि लागाउनुभयो । सप्तरीमा एमाले नेता सुमन प्याकुरेल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, कामानन्द देवलगायतको घरमा तोडफोड भएको उहाँको भनाई छ । उहाँले एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि मोर्चाका नेता–कार्यकर्ताले तोडफोड गरेको आरोप लगाउनुभयो । उहाँले राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरेर राज्यले झन आतंक सिर्जना गरेको आरोप पनि लगाउनुभयो । मधेसी मोर्चाले गृहयुद्धको तयारी गरेको र त्यसमा कांग्रेसले सहयोग गरिरहेको पनि उहाँको आरोप छ । अहिले प्रदेश नम्बर–२ का एमाले कार्यकर्ता असरक्षित बनेको भन्दै उहाँले उनीहरु सुरक्षित स्थानको खोजीमा रहेकाले राज्यको ध्यान त्यसमा तत्काल जानुपर्ने बताउनुभयो ।
फागुन २५ गते ।