के गर्दै छन् मस्ट डिमान्डेड नायिकाहरु

 

काठमाडौँ । चलचित्र ‘ड्रिम्स’ प्रदर्शन हुनुअघि साम्राज्ञी राज्यलक्ष्मी शाहको पहिचान फराकिलो थिएन । उनी जब पर्दामा उत्रिन् दर्शकको मनमा बस्न सफल भइन् । अहिले ‘मस्ट डिमान्डेड’ नायिकामध्येमा गनिने उनले सानै उमेरमा यति लोभलाग्दो ख्याति कमाउनुको खास माध्यम चलचित्र नै हो । एउटा जिज्ञासा, त्यति समय र मेहनत अन्य क्षेत्रमा लगाएको भए के उनी यतिका सफल र लोकप्रिय बन्न सम्भव थियो त ?
केही काम यस्ता हुन्छन् जसले नाम, दाम र स्वाभिमान एकैपटक दिन्छन् । त्यसमध्येको अभिनय कर्म एउटा हो तर यो सोचेजति सजिलो छैन । रंगीन पर्दामा रमाउन चाहनेहरूको कमी त छैन तर सबैको चाहना पूरा हुन पनि सक्दैन । अभिनय गरेरमात्रै हुँदैन । जसले यी तीन वस्तु एकसाथ प्राप्त गर्छ ऊ सेलिब्रेटीमा दरिन्छ ।
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘लुट २’ बाट चर्चामा आएकी एलिसा राई विज्ञानकी विद्यार्थी हुन् । विज्ञान यसै पनि आकर्षक र चमत्कारी विषय मानिन्छ । तर जब उनी चलचित्र क्षेत्रमा आइन् उनलाई विज्ञान विषय फिक्का लाग्न थाल्यो । ‘अभिनयमा लागेपछि मलाई विज्ञान विषय केहीजस्तो लागेन’, एलिसा भन्छिन्, ‘वास्तवमा चलचित्र जति रंगीन छ त्यतिकै चमत्कारी पनि हुने रहेछ ।’ रोशन राई निर्देशित चलचित्र विनायोबाट अभिनय क्षेत्रमा लागेपछि उनको करियरमा चमत्कारिक परिवर्तन आएको छ । आमनेपालीजस्तै उनी पनि सामान्य परिवारकी मान्छे । यसअघि चलचित्र क्षेत्रमा न परिवारका कोही थिए न त अभिनयमा आफूलाई डो¥याउने अग्रज नै । तर युट्युबमा करोड दर्शकले हेर्ने हातका औंलामा गन्न पनि नपुग्ने अभिनेत्रीमध्येमा दरिन पुगिन् । चलचित्र ‘लुट २’ मा समेटिएको ‘ठमेल बजार’ गीतले उनलाई यस्तो पहिचान दिलायो ।
युवापुस्ता पहिचान र लोकप्रियताका विषयमा बढी नै लोभी हुन्छन् । छोटो समयमै आफूलाई अब्बल सावित गर्न खोज्छन् । कतिपय सफल पनि भएका छन् । पढेका, बुझेका, पारिवारिक पृष्ठभूमि नै चलचित्रको भएका कतिपय अभिनेत्री भने अभिनयलाई जीवन सम्झेर अगाडि बढिरहेका छन् । ‘अभिनयमा आउनुपूर्व पनि चलचित्र उद्योगका बारेमा म त्यति अनभिज्ञ थिइनँ’, नायिका केकी अधिकारी भन्छिन्, ‘अभिनयसँगै अध्ययनलाई पनि नबिराई अघि बढाएँ । अहिले म खुसी छु ।’
अन्य क्षेत्रबाट सामाजिक पहिचान बनाउनेहरू पनि कुनै न कुनै कालखण्डमा अभिनयप्रति आकर्षित हुने गरेका छन् । मिस नेपालको ताज चुमेपछि मलिना जोशीले चलचित्र क्षेत्रमा रुचि नभएको बताएकी थिइन् । आफ्नो भनाइमा उनी धेरै समय टिक्न सकिनन् । अहिले उनको प्राथमिकता अभिनयमै छ । चलचित्र ऋतुबाट सुरु भएको उनको अभिनय यात्रा विनर, झुम्की, लील, संरक्षण, रानी हुँदै बढिरहेको छ । मलिनामात्रै होइन त्यसअघि माल्भिका सुब्बाले पनि मिस नेपालको ताज चुमेपछि चलचित्र आफ्नो क्षेत्र नभएको स्पष्ट पारेकी थिइन् । उनी पनि ‘गड लिभ्स इन द हिमालय’, ‘गुडबाई काठमाडौं’जस्ता चलचित्रमा अभिनयसँगै चलचित्र ‘हाउ फन्नी’मार्फत कार्यकारी निर्माताका रूपमा समेत देखापरिन् । चलचित्रमा उनको धीत अझै मरेको छैन ।

फागुन २६ गते ।