चैत १० गतेसम्म मतदान केन्द्र निर्धारण गर्ने आयोगको तयारी
काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन हालै प्राप्त गरेको निर्वाचन आयोगले उक्त प्रतिवेदन अनुरुप मतदान केन्द्र निर्धारणको काम आगामी चैत्रको १० गते सम्म सक्न जिल्ला कार्यालयहरुलाई पत्राचार गरेको जनाएको छ।
पुनर्संरचना प्रतिवेदन अनुरुप मतदाताको ठेगाना समेत परिवर्तन गर्नुपर्ने भएकाले सोही अनुसार मिलाउने काम पनि शुरु गरिएको आयोगका प्रवक्ताले बताए।
स्थानीय तहको निर्वाचनको तयारीमा व्यस्त आयोगले तहको संख्या कति हो र कुन हो भन्ने थाहा नभएका कारण काम गर्न अन्योल भइरहेको बताइरहँदा सरकारले राजपत्रमा प्रकाशित नहुँदै पुनर्संरचना प्रतिवेदन निर्वाचन आयोगलाई दिएको छ।
प्रतिवेदन आएसँगै जिल्लालाई मतदान केन्द्र निर्धारण गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।
उनले भने, ूउहाँहरुले हेरेर, हिसाब गरेर प्रतिवेदन पठाउनुहुन्छ। चैत्र १० गतेभित्र मतदान केन्द्र पुनर्निर्धारण गरेको प्रतिवेदन ७५ जिल्लाबाट केन्द्रमा प्राप्त भइसक्नुपर्ने कार्यतालिका बनाएका छौंू।
पहिलेका मतदान केन्द्रहरुको अवस्था र नयाँ संरचना अनुसारको पूर्वाधारहरु हेरेर मतदान केन्द्रहरु तय गरिने बताइएको छ।
प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला निर्वाचन अधिकारीहरु र राजनीतिक दलका प्रतिनिधिहरु बसेर त्यसको टुङ्गो लगाउने योजना रहेको आयोगले जनाएको छ।
फागुन २६ गते ।