राप्रपाका केन्द्रीय नेतासहित करिब १४ सय जना एमालेमा प्रवेश

 

काठमाडौँ । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत नवलपरासीमा भएको कार्यक्रममा राप्रपाका पूर्व केन्द्रिय सदस्य अमरनाथ शर्मा सहित बिभिन्न पार्टी परित्याग गरी १३ सय ९१ जना एमालेमा प्रबेश गरेका छन् ।

सप्तरी घटनापछि तीन दिन स्थगित अभियान शुक्रबार हेटौंडाबाट सुरु भएको थियो । शनिबार नै चितवन हुँदै अभियान नवलपरासी पुगेको हो । जिल्लाको कावासोतीमा भएको जनसभामा नवलपरासीको बिभिन्न क्षेत्रबाट कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै नेपाली एकजुट भएर देशको सीमा रक्षा गर्न लाग्नुपर्नेमा जोड दिए । उनले देशका लागि पछिल्लो सहादत कञ्चनपुरमा गोविन्द गौतमले दिएको बताए ।

सभालाई एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा थारू, मगर, गुरुङलगायतका समुदायको परम्परागत संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो । आइतबार मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत नवलपरासी कै भूमहीमा जनसभा गरी कार्यक्रम सुरु भएको छ ।