शेयर बजारमा झिनो सुधार

काठमाडौं । शेयर बजारमा यो साता झिानो सुधधारदेखिएको छ । स्टक एक्स्चेञ्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.११ अंकले बढेर अन्तिम दिन १३५७.३४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४२ अंकले बढेर २९४.८३ अंकमा आईपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १२७५९ कारोबारबाट एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २२.०९ प्रतिशत कम हो । गत साता १५६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८५३३ कारोबारबाट दुई अर्ब ३० करोड २० लाख २३ हजार रुपैयाँ बराबरका ४५ लाख ७६ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (३० करोड ८५ लाख ४० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ४८ हजार कित्ता) को आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक नै अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (८२१ वटा) को आधारमा भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।