उत्तर कोरियाव्दारा अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै नयाँ रकेट इञ्जिन परीक्षण

उत्तर कोरिया । उत्तर कोरियाले एउटा नयाँ विकसित रकेट इञ्जिनको सफल परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
उक्त देशका नेता किम जङ् उनलाई उदृत गर्दै आएका खबरहरु अनुसार उक्त इञ्जिनको विकाससंगै उत्तर कोरियाले विश्वस्तरको भूउपग्रह प्रक्षेपणको क्षमता हासिल गरेको छ।
राज्य नियन्त्रित सञ्चारमाध्यम केसीएनएका अनुसार नेता किम जङ् उनले पछिल्लो परीक्षणलाई मुलुकको रकेट क्षेत्रको नयाँ जन्मको रुपमा व्याख्या गरेका छन्।
तर उक्त परीक्षणको स्वतन्त्र पुष्टि भने भइसकेको छैन्।
विश्लेषण
यदि त्यो सही हो भने, लामो दूरीको आणविक क्षेप्यास्त्र विकास गर्ने प्योङ्याङ्को घोषित लक्ष्य त्यस पछाडिको कारण रहेको विश्लेषकहरुले बताएका छन्।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बेइजिङ्मा चिनियाँ नेताहरुसँग भेटवार्ता गरिरहेका बेला पछिल्लो खबर आएको छ।
यसअघि टिलरसनले उत्तर कोरियाविरुद्धको सैनिक कारबाही एउटा विकल्पको रुपमा आफूहरुले सोचिरहेको चेतावनी दिएका थिए।
तर उनका चिनियाँ समकक्षी वाङ् यीले भने उत्तर कोरियाली आणविक कार्यक्रमसँग सम्बन्धित मामिलामा ठन्डा दिमागले काम गर्नुपर्ने धारणा राखेका थिए।
यद्यपि उनीहरुबीच भएको भेटमा उत्तर कोरियालाई उसको आणविक कार्यक्रमबाट फरक बाटोमा हिंडाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति पनि भएको छ।
उत्तर कोरियाले पाँचवटा आणविक र श्रृखंलावद्ध क्षेप्यास्त्र परीक्षणहरु गरिसकेको छ।
विज्ञहरु ठान्छन्, उत्तर कोरियाले अमेरिकासम्म पुग्ने आणविक क्षेप्यास्त्रहरु विकास गर्ने प्रयास गरिरहेको छ।
अमेरिकाले दिएको पछिल्लो सैन्य कारबाही गर्ने चेतवानीलाई बेवास्ता गर्दै फेरि अत्याधुनिक रकेट इञ्जिनको परीक्षण गरेको छ । यो परीक्षणको विश्वीव्यापीरुपमा विरोध भएको छ । १ लाख २२ हजार ८६२ वर्ग किमि क्षेत्रफलमा फैलिएको २ करोड ५० लाख जनसङ्ख्या भएको सानो मुलुकले विश्वमा चर्चामा आइरहन सैन्य तथा आणविक शक्ति आर्जनलाई प्रमुख प्राथमिकता दिएको छ ।
सैन्य शक्ति
सक्रिय सेना ः ११ लाख ६ हजार
सैन्य तालिम लिएको सङ्ख्या ः ८२ लाख
सैन्य खर्च ः ७ अर्ब डलर
आणविक शक्ति
क्षेप्यास्त्र क्षमता
स्कड डी ७ सय किमि
नो डोङ १ हजार किमि
तायपोडोङ २२ सय किमि
तायपोडोङ एक्स ४ हजार किमि
तायपोडोङ २ ६ हजार ७ सय किमि
परमाणु परीक्षण
सन् २००६(पहिलो),२००९( दोस्रो), २०१२ ( तेस्रो),२०१६( चौथो) र २०१६(पाँचौँ)
चैत ६ गते ।