निर्वाचन आयोगव्दारा १ करोड ६० लाख मतपत्र छपाई सुुरु

काठमाडौँ । स्थानीय चुनावको तयारी प्रक्रियामा महत्वपूर्ण कदमको रुपमा हेरिएको मतपत्रको छपाई आइतबारदेखि शुरु भएको निर्वाचन आयोगले जनाएको छ।
हालै मतपत्रको स्वरुप र आकार टुंगो लगाएको आयोगले सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्रबाट छपाई गर्न थालेको हो ।
वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि अनुमानित १ करोड ६० लाख मतपत्र छापिने अधिकारीहरुले बताएका छन्।
जनक शिक्षा सामाग्री केन्द्रको प्रेसमा पुगेर निर्वाचन आयोगका पदाधिकारीहरुले शनिबार मतपत्र छपाईको परीक्षण गर्न लगाएका थिए।
आवश्यक सबै तयारी पूरा भइ मतपत्रको परीक्षण छपाई पनि सफल भएपछि स्थानीय चुनावका निम्ति चाहिने मतपत्र छाप्ने काम आइतवारबाट सुरु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।
आयोगका अनुसार झण्डै दुई दशकपछि हुन लागेको स्थानीय चुनावका लागि ठ्याक्कै चाहिने मतपत्रको संख्या सम्भवतः २० गते मात्रै थाहा हुनेछ, जब मतदाता नामावलीलाई अन्तिम रुप दिइनेछ।
यद्यपि हाललाई झण्डै १ करोड ६० लाख मतपत्र चाहिने अनुमान गरिएको प्रवक्ता शर्माले बताए।
र, उक्त संख्यामा मतपत्र छाप्न जनक शिक्षा सामाग्री केन्द्रलाई ४० देखि ४२ दिन लाग्ने आयोगले बताएको छ।
स्थानीय चुनावमा सहभागी हुने उद्देश्यले ११३ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
जिल्ला अनुसार दलहरुको संख्या पनि फरक भएकाले त्यसै अनुरुप फरक फरक आकारमा मतपत्र छाप्न लागिएको आयोगका प्रवक्ता शर्माले बताए।
उनले थपे, ६ आकारका मतपत्र छाप्ने आयोगले निर्णय गरेको छ। थोरै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार हुने सम्भावना भएका जिल्लाहरुका सानो आकारको मतपत्र हामी प्रयोग गर्छौँ। धेरै स्वतन्त्र उम्मेदवार र धेरै जनसंख्या भएका जिल्लामा ठूलो आकारको मतपत्र हामीले प्रयोग गर्नुपर्ने हुन्छ।ू
सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा र सबैभन्दा कम मनाङमा ७ वटा दल दर्ता भएका छन्।
आयोगका प्रवक्ता शर्माका अनुसार सानो आकारको मतपत्र एक कोलमको र ठूलो आकारको मतपत्र दुई कोलमको हुनेछ।
आफ्ना पनि केही कर्मचारीको उपस्थितिमा दुई शिफ्ट गरेर जनक शिक्षा सामाग्री केन्द्रले चौबिसै घण्टा मतपत्र छाप्ने आयोगका अधिकारीहरुले बताएका छन्।
उनीहरुका अनुसार मतपत्र छपाईको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।
चैत ७ गते ।