विदेशी एजेण्डाका भारी बोकेर देशलाई समृद्ध बनाउन सकिन्न : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मधेसमा रहेको भ्रम एमालेले चकनाचुर पार्ने भयका कारण एमालेका शान्तिपूर्ण कार्यक्रममाथि हिंसात्मक निषेध गर्न खोजिएको बताउनुभएको छ । पार्टीको मेची महाकाली अभियानमा सहभागिहरुलाई सम्मान गर्न राजधानीमा मंगलवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले एमाले विरुद्ध देखिएका मात्रै नदेखिएका पार्टी पनि लागेको वताउनुभयो ।
‘एमाले आफ्ना कार्यक्रम, नीति र आफूले गरेका कामका विवरण लिएर तराईका जनतामा गयो भने त्यहाँ फैलाइएको भ्रम चकनाचुर हुन्छ । एमाले नजाओस् र झुठको खेती टिकाइराख्न पाउँ भनेर बम, भाला बोकेर निषेध गर्ने प्रयास गरेका हुन्’ ओलीले भन्नुभयो, ‘अहिले केही पार्टीका नेता एमालेले गर्दा चुनाव गर्न गाह्रो भनिरहेका छन्, तिनीहरुलाई सबै मिल्दा पनि एमालेसँग सकिंदैन भन्ने परेको छ ।’सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले गर्दा चुनावको वतावरण बन्न नसकेको वताएका थिए ।
ओलीले एमाले र सत्तारुढ अन्य पार्टीहरु एक एक केजीका चारवटा ढक र एमाले एक्लै पाँच केजीको एउटा ढक तराजुमा राखेर जोखेजस्तो भएको टिप्पणी गर्नुभयो । ‘एक एक केजीका चारवटा ढक जम्मा गरेर एकठाउँमा राखेका छन्, एमाले एक्लै पाँच केजीको छ’ ओलीले भन्नुभयो, ‘एमालेलाई एक्ल्याउन जो जो मिले पनि एमालेसँग सामना गर्न उनीहरुलाई अप्ठ्यारो भइरहेको छ ।’

उहाँले एमालेले बोकेका मुद्दा राष्ट्रिय मुद्दा भएकाले ती मुद्दा पराजित हुँदा एमाले मात्रै पराजित नहुने वताउनुभयो । ‘केपी ओली मधेस विरोधी, केपी ओली जनजाति विरोधी भनेर भ्रम फिंजाएका छन्, यो केपी ओलीको वा एमालेको मात्रै मुद्दा होइन’ ओलीले भन्नुभयो, ‘यस्ता हार जीतमा केपी ओलीले हारेर केही हुँदैन तर, देशले हार्नु भएन ।’ सामाजिक सद्भाव खल्बल्याउने पक्षले एउटा जाति विरुद्ध अर्को जाति र एउटा भूगोल विरुद्ध अर्को भूगोलबा बीच द्वन्द्व बढाउन खोजेको ओलीको भनाई थियो ।
‘सत्तामा बसेका छन्, जनताका बीच लिएर जाने एजेण्डा छैन’ ओलीले भन्नुभयो, ‘एमाले यस्तो, केपी ओली उस्तो, फलाना फलानाको विरोधी भन्यो लाठी बोक्यो हिड्यो, उनीहरुको धन्दा यसैगरी चलिरहेको छ ।’
उहाँले संविधान संस्थागत गरी देशलाई विकासको दिशामा अगाडि बढाउन ढिलो भइसकेको वताउनुभयो । राष्ट्रलाई समृद्धिमा लैजान एमाले आफ्ना कार्यकर्ता मात्रै नभएर अन्य दलका कार्यकर्तालाई पनि प्रशिक्षण दिन तयार रहेको ओलीको भनाई थियो । उहाँले विदेशीका एजेण्डाका भारी बोकेर देशलाई समृद्ध बनाउन नसकिने बताउनुभयो ।
लोकतान्त्रिक प्रणालीको मुल्य मान्यतालाई आत्मसात गर्न केही बुद्धिजीवीहरु पनि चुकेको ओलीको भनाई थियो । ‘एमाले मधेस पस्यो भनेर लेख्छन्, के लेख्या त्यो एमाले मधेसमा बस्दैन जस्तोगरी ‘बुद्धिजीवी’ले बुद्धिको दुरुपयोग नगरे हुने नि’ ओलीले भन्नुभयो, ‘बुद्धिजीवी बिग्रे भने श्रीमान गम्भीर नेपाली लेख्न थाल्न्, बुद्धिजीवी सप्रे भने यो नेपाली शीर उचाली संसारमा लम्कन्छ लेख्न थाल्छन् । तर, उनीहरुले यो बुझुन् यो देशमा एमाले छ एमालेले देश बिग्रन दिंदैन ।’
राम्रो काम गर्ने सरकारलाई टिक्नै नदिइएको वताउँदै ओलीले राम्रो सरकारले ५ वर्ष मात्रै काम गर्न पाए विकासको फड्को मार्न सकिने वताउनुभयो । ‘केही गर्लाजस्तो सरकार देखिन थालेपछि देखिने नदेखिने पार्टीहरुका अंध्यारा कुनामा बैठक सुरु हुन्छ’ ओलीले भन्नुभयो, ‘साउनमा त्यस्तै भयो, अहिले हेर्नुस् त के गर्नका लागि सरकार ढालेका रैछन् ?’
समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको मेची महाकाली अभियानले राष्ट्रलाई एकताको सुत्रमा जोडेको वताउनुभयो । । ‘एमालेको अभियानबाट जनतामा अपूर्व उत्साह जागेको पायौं । सामाजिक सद्भाव कायम गर्न, संविधानमाथिको भ्रम चिर्न र हिमाल पहाड र तराईलाई सद्भावमा जोड्न यसले ठूलो भूमिका खेलेको छ’ नेपालले भन्नुभयो, ‘हामीले हाम्रा विचार जनताका बीचमा राख्यौं, अधिकार पाइएन भन्नेलाई तथ्य लिएर आउनुस् भन्यौं ।’ नेपालले एमालेले संक्रमणकालको ब्यवस्थापन गरी आर्थिक समृद्धि र रोजगारीको बाटोमा देशलाई लौजान खोजेको वताउनुभयो । ‘यो संविधानले महिला, दलित, जनजाति, मधेसी सबैलाई अधिकार दिएको छ’ नेपालले भन्नुभयो, ‘जसले जनतालाई अधिकार दिएको छैन भनिरहेको छ, तिनीहरु अधिकारको नाममा अर्कैको कुरा गरेर राजनीति गर्न खोजिरहेका छन् ।
महासचिव ईश्वर पोखरेलले अभियानमा छुटेका २ नम्बर प्रदेशका जिल्लाहरुमा छिट्टै अभियान सञ्चालन हुने वताउनुभयो । उहाँले एमालेको अभियान एमालेको मात्रै नभएर देश जिताउने सम्पूर्ण नेपालीको अभियानमा रहेको पनि वताउनुभयो । ‘यो एमालेको मात्रै अभियान थिएन, देशलाई मायाँ गर्ने, देशको स्वाधीनताको पक्षमा रहेका र आफ्नै पौरखले उन्नती गर्नु पर्छ भन्ने सम्पूर्ण नेपालीको साझा अभियान थियो’ पोखरेलले भन्नुभयो, ‘केही अराजनीतिक तत्वहरुले स्थिति भड्काउन खोज्दा २ नम्बर प्रदेशका केही जिल्लामा स्थगित गर्नु पर्यो । अव छिट्टै २ नम्बर प्रदेशमा पनि जुट्छौं ।’

समारोहमा मेची महाकाली अभियानको केन्द्रीय टोलीमा संलग्न नेता कार्यकर्तालाई प्रमाणपत्रसहित एमालेले सम्मान गरेको थियो ।