मोर्चाका नेतालाई रघुवीरको चेतावनी– ‘नेपाली भएर नेपालका समस्याबारे सोच्नुहोस्’

maitrinews
 
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सदस्य रघुवीर महासेठले मोर्चाका नेताहरुलाई नितान्त नेपाली भएर नेपालको समस्याबारे सोच्न आग्रह गर्नुभएको छ ।  राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उहाँले यस्तो आग्रह गुर्नुभएको हो ।  ‘मधेस बिग्रियो भने नेपाल नै बिग्रिन्छ,’ उहाँले भन्नुभयो । उहाँले मधेस नेपाल भएको भन्दै मधेसका जनता देशप्रति निकै उत्तरदायी भएको दाबी पनि गर्नुभयो ।  उहाँले मोर्चाका नेताहरुले छिमेकीको सल्लाह लिएर चलेको आरोप समेत लगाउनु भयो ।  ‘विदेशीले नेपालको आत्मसम्मानमा चोट पुर्याउने काम गरेका छन्,’ उहाँले भन्नुभयो, ‘नाङ्गो हस्तक्षेप हामी सहन सक्दैनौँ ।’
उनले मोर्चाका नेताहरु भारतीय नेताहरुबाट निर्देशित भएको भन्दै भन्नुभयो–‘आन्दोलन गर्ने हो भने नेपालमा गर्नुहोस्, प्रतिष्पर्धा गर्नुहोस, हामी यहाँ आफ्ना कुरा राखेर जनतामा जाऔं न, किन दिल्ली, युपी र विहारमा गएर क्लास लिनुहुन्छ ?’
मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताउनु भएको थियो ।  उहाँले मधेसी मोर्चा जसरी पनि चुनावमा आउनुको विकल्प नभएको भन्दै सहमतिमा अघि बढ्न सुझाव पनि दिनुभयो ।   ‘भोलि यो पार्टीका कारण हामी चुनावमा जान पाएनौं भनेर पछुताउने काम नहोस्, बेलैमा विचार गर्नुृहोस्,’ उहाँले भन्नुभयो, ‘मधेशी मोर्चाले पहिलो संविधान संशोधनमा पनि दुई वटा विषय पारित भए हामी मान्छौं भन्नुभयो, दुईवटा विषय पारित हुँदा पनि उहाँहरुले पछि फेरि अर्को बखेडा झिक्नुभयो।’ 
उहाँले यो पटक संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका चार वटा विषयहरुमध्ये प्रदेशको सिमांकनको बारेमा प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच समान धारणा रहेको स्पष्ट पार्नुभयो ।   मोर्चाका नेताहरुले चुनाव नचाहे पनि जनताले चुनाव चाहेको स्पष्ट पादै उहाँले भन्नुभयो– ‘ मोर्चाभित्र पनि अनिल झाजी जस्ता थुप्रै नेताहरु चुनावको पक्षमा हुनुहुन्छ, तर के गर्नु उहाँ त केवल विद्यार्थी मात्रै हो, हेडमास्टरले भनेको कुरा मान्नैपर्यो, नमानेपछि फेरि अप्ठ्यारो पर्छ।’