एमालेव्दारा स्थानीय तहको उम्मेदवार छनोट गर्ने कार्यविधि र मापदण्ड तयार

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार छनोट गर्ने कार्यविधि तथा मापदण्ड तयार पारेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटिले गर्ने, नगर पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगर पालिका तथा महानगरपालिकाको उम्मेदवारको टुंगो सम्बन्धित जिल्ला कमिटि, प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले तय गर्ने कार्यविधि तय गरेको हो ।
सबै तहको उम्मेदवारी चयन स्थानीय कमिटीकै सिफारिसमा हुने कार्यविधि तय गरिएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी एमालेले पार्टीप्रति प्रतिवद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकाहरुलाई उम्मेदवार बनाउने मापदण्ड पनि तय गरेको छ । उम्मेदवारी चयन गर्दा समावेशीतालाई पनि ध्यान दिइने निर्णय लिइएको एमालेले जनाएको छ ।
यस्तै बैठकले स्थानीय तहको निर्वाचनमा सिंगो पार्टी परिचालन गर्ने समेत निर्णय गरेको छ ।
पार्टीको मेची–महाकाली अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै बैठकले अब सिंगो पार्टी पंक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको हो ।
गाउँ तहसम्मै निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचन अभियानमा जुटने निर्णय लिइएको पनि पार्टीका सचिव भट्टराईले जानकारी दिनुभयो ।
एमालेले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी एमालेले सरकारले सरुवा, बढुवा, बजेट विनियोजना जस्ता निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै गम्भिर आपत्ति पनि जनाएको छ ।
बैठकले प्रदेश नम्बर दुईमा चैत्र महिनाभर प्रदेश स्तरमा विस्तारित भेला, जिल्ला स्तरमा कार्यकर्ता भेला र गाउँ÷नगर स्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
खासगरी प्रदेश नम्बरको २ मा स्थगित गरिएको पार्टीको मेची महाकाली अभियान अन्तरगतनै ती कार्यक्रमहरु संचालन गर्ने निर्णय लिइएको एमालले जनाएको छ । सचिव भट्टराईले बैशाख १ गतेबाट प्रदेश नम्बर दुईमा पनि निर्वाचन अभियानलाई तीव्रता दिने पनि स्पष्ट पार्नुभयो ।
एमालेले पार्टीमा प्रवेश गर्ने लहर चलेको उल्लेख गर्दै उनीहरुलाई उचित जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनमा भाग लिन पनि सबै राजनीतिक दलहरुलाई पुनः आह्वान गरेको छ ।
चैत १० गते ।