नेमकिपाद्वारा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्था खारेज गर्न माग

 

भक्तपुर, १० चैत । नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ एक सिट प्राप्त गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरेको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।

सो पार्टीले आज प्रेस विज्ञप्ति प्रकाशित गरी २०७३ साल चैत ९ गते बसेको संसद्को बैठकद्वारा पारित राजनीतिक दलसम्बन्धी विधेयकमा गरिएको यो व्यवस्था प्रजातन्त्र र प्रतिगामी भएको ठहर नेमकिपाले गरेको छ ।

नेमकिपाका सचिव सुनिल प्रजापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो व्यवस्थाले देश र जनताको हित विपरीत, प्रजातन्त्र विरोधी र प्रतिगामी कदम भएको ठहर गरेको जनाएको छ ।

राजनीतिक दल निर्वाचनका माध्यमबाट आआफ्नो सिद्धान्त प्रचारप्रसार गर्ने कामलाई रोक्दै थ्रेसहोल्ड राखिनु दुई वा तीन दलीय तानाशाही लाद्ने पञ्चायती मानसिकता भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– “पुँजीवादी निर्वाचनमा प्रशासनिक शक्ति, अन्य भौतिक बल तथा पैसाको व्यापक दुरुपयोग हुने भएकाले निःस्वार्थ रुपले जनता र देशको सेवा गर्ने दलले निर्वाचनमा सदर मतको निश्चित प्रतिशत (थ्रेसहोल्ड) प्राप्त गर्न नसक्ने सम्भावना रहने छ ।”

थ्रेसहोल्ड राख्ने व्यवस्था खारेज गराउन पार्टीले सडक र संसद्मा सङ्घर्ष गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । रासस