दुरसञ्चार कम्पनिको आयमा इन्टरनेटको हिस्सा बढ्यो

maitrinews

काठमाडौं, १० चैत ।बढ्दो इन्टरनेट सेवाको माग र प्रयोगसँगै मोबाइल सेवा प्रदायक कम्पनीहरुको यो सेवाबाट हुने आयमा पनि निरन्तर वृद्घि भईरहेको छ । नेपालकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका अनुसार, उसको कुल आम्दानीमा इन्टनेट सेवाको योगदान १८ प्रतिशत रहेको छ ।
एनसेलको प्रमुख लगानीकर्ता कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१६ को प्रतिवेदन अनुसार, अक्टोबर देखि डिसेम्बर सम्मको चौथो त्रैमासिकमा एनसेलले डाटा सेवामा २.५८ अर्ब आय गरेको छ जुन सो त्रैमासिकको कुल आय १४.३४ अर्वको १८
प्रतिशत हो । सन् २०१५ को सोही त्रैमासिकमा एनसेलको यो सेवाको आम्दानीको योगदान कुल आयमा १२ प्रतिशत रहेको थियो ।
टेलिकम कम्पनीहरुको कुल आयमा सबभन्दा बढि योगदान भ्वाइस सेवाको रहने गरेको छ । यद्यपि प्रत्येक वर्ष डाटा सेवामा ग्राहक संख्या र यसबाट हुने आयमा वृद्घि भईरहेको छ । अबको २ वर्षमा एनसेलको डाटा र भ्वाइस सेवाको आय बराबरी हुने
अनुमान गरिएको उसले जनाएको हो ।
डाटा सेवा लगायतबाट आयमा वृद्धिसँगै एनसेलले सरकारलाई तिर्ने करमा पनि वृद्धि भएको छ । गत आवको आम्दानीबाट सरकारलाई एनसेलले अग्रिम आयकर, रोयल्टी, भन्सार शुल्क, फ्रिक्वेन्सी शुल्क, सम्पत्ति र सवारी साधन कर, मुल्य अभिवृद्धिकर, टिडिएस,
दूरसञ्चार सेवा शुल्क, स्वामित्व कर लगायत विभिन्न राजश्व शिर्षकहरुमा २८ अर्ब भन्दा बढि योगदान गरेको छ । त्यसै गरी कम्पनीले ग्रामिण दूरसञ्चार कोषमा १.१५ अर्ब बुझाएको थियो ।