क्यानभासमा कृष्णका विविध लीला

काठमाडौं । भगवान् कृष्णको लीला महाभारत, श्रीमद्भागवत, कृष्ण चरित्रलगायत ग्रन्थमा वर्णन गरिएको छ । कृष्णको रोमाञ्चक चरित्रका बारेमा साहित्यमा पनि व्याख्या भइरहन्छ । रंगसँग खेल्ने कलाकार पनि उनको चरित्रलाई नछोई कहाँ बस्न सक्थे र । कलाकारहरूले कृष्णको रासलीलाबारे चित्र कोरेका छन् ।
कृष्णलीलाको विषयमा पाँच देशका २६ जना कलाकारले बनाएको कलाकृति ठमेलको मिथिला यें आर्ट ग्यालरीमा राखिएको छ । ‘कृष्णलीला इन्टरनेसनल आर्ट फेयर’मार्फत कृष्णका विविध पक्षलाई कलाकारले क्यानभासमा उतारेका हुन् ।
आइतबारदेखि सुरु भएको प्रदर्शनीमा नेपालका अग्रजदेखि युवा कलाकारको सहभागिता छ । नेपालबाट कलाकार किरण मानन्धर, उमाशंकर शाह, डा। सीमा शर्मा शाह, राधेश्याम मुल्मी, केके कर्माचार्य, रमेश खनाल, महेश आचार्य, तीर्थ निरौला, श्यामसुन्दर यादव, बीके नरबहादुर र प्रमिला बीकेका कला देख्न पाइन्छ ।
बंगलादेशी कलाकार नरगिस परविन, सुशान्त अधिकारी प्रदर्शनीमा सहभागी छन् । भारतका प्रकाश वी, विश्वजित दत्ता, स्वपकुमार सिन्हा, बबिता शाह, रञ्जित झाका कला प्रदर्शनीमा छन् । प्रदर्शनीमा फ्रान्सका कलाकार भिन्सेन्ट र जर्मनीका पिटरका कला पनि आकर्षणको केन्द्र बनेका छन् ।