झडपकाबीच आरआर क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान जारी,पेट्रोल बम प्रहार

काठमाडौ । झडपकाबीच राजधानीको प्रदर्शनमार्गस्थित आर आर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन भइरहेको छ ।
अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको छ । बाहिर भने तनाव बढ्दो छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीहरुले चुनाव रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् ।
फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि आज चुनाव भएको हो ।यसैबीच रत्नराज्य लक्ष्मी क्याम्पस भइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनलाई अवरोध पु¥याउने उद्देश्यले केहि विद्यार्थीको एक समूहले त्यहाँ पेट्रोल बम प्रहार गरेको छ ।
प्रहरीका अनुसार निर्वाचनबाट असन्तुष्ट रहेका विद्यार्थीको समूहले दुईवटा सिसीमा पेट्रोल राखेर पड्काएका हुन् । सो आक्रमण कसले गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशीले जानकारी दिनुभयो । आक्रमणबाट कसैलाई पनि केही क्षति नभएको बताइएको छ ।
अहिले आरआर क्याम्पस र वरिपरिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकोे परिसरका प्रमुख जोशीले जानकारी दिनुभयो ।
चैत १५ गते ।