कैलालीका बालबालिकाको माग: “कुलत र विकृतिबाट बच्न वडा-वडामा खेलमैदान र बाल उद्यान आवश्यक”
कैलाली, २४ असार । कैलालीको घोडाघोडी क्षेत्रका बालबालिकाले आफ्नो चौतर्फी विकासका लागि भौतिक पूर्वाधार, विशेष गरी खेलमैदान र बाल उद्यान निर्माणमा लगानी बढाउन स्थानीय सरकारसँग माग गरेका छन्। विद्यालय समयपछिको फुर्सदिलो समय बिताउने उचित स्थान र वातावरण नहुँदा बालबालिका कुलत, बालविवाह र प्रविधिको दुरुपयोगतर्फ आकर्षित भइरहेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन्।
स्थानीय बालिका आयुषा सञ्यालका अनुसार वडास्तरमा व्यवस्थित खेलमैदान र उद्यानको अभावले बालबालिकामा लागुपदार्थको लत, बालविवाह र सामाजिक सञ्जालको गलत प्रयोगको जोखिम बढेको छ। “प्रविधिको गलत प्रयोगबाट जोगिन र देशको भविष्य निर्माणका लागि बालबालिकालाई सिर्जनात्मक कार्यमा व्यस्त राख्ने योजना र संरचना आवश्यक छ,” उनले भनिन्।
खेलकुदमा रुचि राख्ने र जिल्लास्तरमा सफलता हासिल गरेका बालबालिकाले खेल क्षेत्रमा लाग्नेहरूलाई शैक्षिक प्रोत्साहनको समेत खाँचो रहेको औँल्याएका छन्। तेक्वान्दो खेलाडी हेमा न्यौपानेले भनिन्, “जेहेन्दार हुनु भनेको पढाइमा मात्र उत्कृष्ट हुनु होइन; खेल, सङ्गीत र अन्य विधामा राम्रो गर्नेलाई पनि छात्रवृत्ति र विशेष अध्ययनको वातावरण मिलाइनुपर्छ।” उनले खेलकुदले नेतृत्व विकास र आत्मविश्वास बढाउने भए पनि विद्यालयहरूले खेलाडीलाई उचित प्रोत्साहन दिन नसकेको गुनासो गरिन्।
बालबालिकाले समाजमा बढ्दो बालविवाह र गलत आनीबानी सुधारका लागि ‘रुपान्तरण कक्षा’ को महत्त्वमा जोड दिएका छन्। घोडाघोडी–३ का अमित चौधरीले यस्ता कक्षाहरूले व्यवहार परिवर्तन र गलत बाटोबाट जोगाउन सहयोग पुर्याएको बताउँदै यसलाई पालिकास्तरबाटै समुदायमा लैजानुपर्ने माग गरे। यस्तै, शर्मिला रोक्काले बालमैत्री स्थानीय शासन घोषणाका लागि सरकारले बालबालिकाको शिक्षा, पोषण र बालविवाह न्यूनीकरणमा दीर्घकालीन लगानी गर्नुपर्ने धारणा राखिन्।
बालबालिकाका मागप्रति सम्बोधन गर्दै घोडाघोडी नगरपालिकाले शैक्षिक र अतिरिक्त क्रियाकलापमा सुधार गरिरहेको जनाएको छ। नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंहका अनुसार:
स्काउट अभियान: पालिकाले ३२ महिला र ३४ पुरुष शिक्षकलाई तालिम दिएर विद्यालयमा स्काउट गतिविधि सञ्चालन गरेको छ, जुन नेपालमै छात्रछात्रालाई समान रूपमा स्काउट सिकाउने पहिलो प्रयास भएको दाबी गरिएको छ।
पूर्वाधार विकास: विद्यालयहरूमा खेलमैदान, शौचालय, स्यानिटरी प्याड र आराम कक्षको व्यवस्था विस्तार गरिँदैछ।
बालकोष स्थापना: यस वर्ष पालिकाले बालकोष स्थापना गर्ने र बाल सञ्जालमार्फत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको महिला बालबालिका शाखा प्रमुख इन्दु जोशीले जानकारी दिइन्।
नगरप्रमुख खडक रावतले घोडाघोडी नगरपालिका शैक्षिक रूपमा जिल्लामै उत्कृष्ट रहेको र यसलाई खेलकुद तथा साङ्गीतिक क्षेत्रमा पनि अब्बल बनाउन प्रयास भइरहेको बताए। उनले सामुदायिक विद्यालयको एसइई नतिजामा घोडाघोडी जिल्लाभरमै अग्रस्थानमा रहेको जानकारी दिँदै बालबालिकाको सर्वाङ्गीण विकासका लागि थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे।