प्रतिनिधिसभा बैठक बस्दै आज, अख्तियारको प्रतिवेदन पेस र महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने

काठमाडौँ, २४ असार । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू पेस गर्ने र नयाँ विधेयकहरूमाथि छलफल अगाडि बढाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुईवटा महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम छ। जसमा ‘महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन २०८१–०८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ रहेका छन्। यी प्रतिवेदनहरूमाथि आगामी दिनमा संसद्मा विस्तृत छलफल हुनेछ।

आजको बैठकमा विधायकी कार्य अन्तर्गत ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई अगाडि बढाउने तयारी छ। मन्त्री गौतमले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने र सो उपर विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, अर्थतन्त्र र पर्यटन क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी गरिएको छ:
नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
पर्यटन विधेयक, २०८२: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको यस विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *