जेलमा रहेका महिलाहरुको सशक्तिकरणका लागि नेवाः सांस्कृतिक कार्यक्रम आयोजना गरिने

 

काठमाडौं । जेलमा रहेका महिलाहरुको सशक्तिकरण र आर्थिक सचेतनाका लागि सहयोग पुर्‍याउन नेवार सांस्कृतिक कार्यक्रम र नेवार परम्परागत भोज ‘नेवाः सांस्कृतिक ज्याझ्वः व झ्वःभ्वय्’ आयोजना गरिने भएको छ । अग्रशील महिला संस्था लिडिङ वूमेन एशोसिएसन, राष्ट्रिय उपभोक्ता मञ्च तथा सजेना क्राफ्टले संयुक्त रुपमा यही चैत २५ गते शुक्रबार पाटन म्यूजियममा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जापानी राजदूत मासासी ओगावाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुने जानकारी गराइएको छ ।

आयोजक संस्था लिडिङ वूमेन एशोसिएसनले महिलाहरुको सशक्तिकरण एवं सीप विकासका कार्यक्रम संचालन गर्दै आएको छ । त्यस्तै सजेना क्राफ्टले वन्दी महिलाहरुले उत्पादन गरेका सामग्रीको खरिद गर्ने जनाएको छ ।
कार्यक्रममा लोकप्रिय गीतहरु साथै रुद्राक्ष ब्याण्डद्वारा जलतरंगमा लोक तथा शास्त्रीय धुन प्रस्तुत गर्नेछ । साथै स्वजन रघुवंशी र समूहले प्रसिद्ध चर्या नृत्यहरु प्रस्तुत गर्नेछन् ।
आयोजकका अनुसार कार्यक्रममा बालकलाकारहरु टुलिप श्रेष्ठ र सजेना चित्रकारको नृत्य प्रस्तुति रहने छ ।
चैत २१ गते ।