वज्रयोगिनी–मणिचूड महोत्सव नयाँ वर्षमा
काठमाडौँ, २८ चैत । काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण वज्रयोगिनी माइको मन्दिर र मणिचूड क्षेत्रलाई चिनाउन आगामी नयाँ वर्षमा महोत्सव आयोजना गरिने भएको छ ।
शङ्खरापुर नगरपालिका – ८ मा पर्ने वज्रयोगिनी र मणिचूड क्षेत्रको महत्व राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले वज्रयोगिनी मणिचूड पर्यटन प्रवद्र्धन समिति गठन गरी महोत्सवको तयारी गरिएको सहसंयोजक पोते थिङले जानकारी दिनुभयो । वैशाख १ र २ गते आयोजना गरिने महोत्सवमा तामाङ, नेवारलगायत समुदायको कला, संस्कृति एवम् वेशभूषाको समेत प्रस्तुत गरिनेछ । महोत्सवका क्रममा वज्रयोगिनीदेखि मणिचूडसम्म म्याराथुन, मणिचूड कुण्डमा पौडी प्रतियोगिता, कुण्ड नजिकै रहेको साँढे उचाल्ने प्रतियोगिता आयोजना गरिने समितिका सचिव रक्षेबहादुर तामाङ ग्लानले बताउनुभयो ।
ढुङ्गाको साँढे उचालेमा गानो गोलाको रोग निको हुने विश्वाससमेत छ । यही मान्यताका आधारमा यहाँ धार्मिक पर्यटक आउने गर्छन् । मणिचूड समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा छ ।
काठमाडौँबाट २५ किमीको दूरीमा रहेका वज्रयोगिनी र मणिचूड क्षेत्रबाट विभिन्न हिमशृङ्खला र उपत्यकाको मनोरम दृश्य हेर्न सकिन्छ । यहाँबाट सूर्योदयको दृश्य नगरकोटबाट भन्दा राम्रो देखिने भए पनि प्रचारप्रसारको अभाव र पूर्वाधारको विकास हुन नसकेकाले पछि परेको मणिचूड उद्यान निर्माण समितिका अध्यक्ष दिखबहादुर तामाङले बताउनुभयो । यस क्षेत्रमा कुनै बखत राजा मणिचूडले शासन गर्नुभएको थियो । साँखुमा चैत शुक्ल पूर्णिमाका दिन मङ्गलबारदेखि सात दिनसम्म मनाइने तीन सय वर्ष ५० पुरानो वज्रयोगिनीको जात्राको सबै तयारी पूरा भएको छ । रासस