नारायणगढ–बुटवल सडक: दाउन्नेमा एकतर्फी ढलान सम्पन्न, अब ६५ किलोमिटर खण्ड पक्की सडकले जोडियो

नवलपरासी, १९ वैशाख । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सबैभन्दा चुनौतीपूर्ण मानिएको दाउन्ने क्षेत्रमा सडकको एकतर्फी ढलानको काम सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) अन्तर्गत पर्ने करिब चार किलोमिटरको दाउन्ने उकालोमा ढलान सकिएसँगै यात्रुहरूलाई ठूलो राहत मिल्ने भएको छ।

पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार ढलान गरिएको सडक पूर्ण रूपमा सेट हुन (Curing period) कम्तीमा १४ दिन लाग्नेछ। “दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ, अबको दुई हप्तापछि उक्त पक्की सडकबाटै सवारी आवागमन सुरु गरिनेछ,” खनालले भन्नुभयो। दाउन्नेमा सडक ढलान नहुँदा सामान्य वर्षा हुनासाथ हिलोका कारण सवारीसाधन फस्ने र घण्टौँसम्म जाम हुने समस्या रहँदै आएको थियो।

दाउन्नेको यो खण्डमा ढलान सकिएसँगै नारायणगढ–बुटवल सडकको पूर्वी खण्डको पुरै ६५ किलोमिटर भाग अब कालोपत्र र ढलानले जोडिएको छ। “यो आयोजनाका लागि एउटा महत्वपूर्ण उपलब्धि हो, अबको १४ दिनपछि पूर्वी खण्डको पुरै यात्रा कालोपत्र वा पक्की सडकमा गर्न सकिनेछ,” सूचना अधिकारी खनालले थप्नुभयो। यद्यपि, दाउन्नेको पश्चिम खण्ड (बुटवलतर्फ) मा भने अझै ढलानको काम बाँकी नै छ।

२०७५ साल माघ २४ गते सम्झौता भएको यस सडक विस्तारको काम सुरुमा २०७९ साउन २२ गतेभित्रै सक्ने लक्ष्य थियो। चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ठेक्का पाएको यो आयोजना विभिन्न प्राविधिक र व्यवस्थापकीय कारणले ढिलाइ हुँदै आएको छ। निर्धारित समयमा काम नसकिएपछि अहिले चौथो पटक म्याद थप गरिएको छ। कुल ११३ किलोमिटर लामो यो सडकलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित यस रणनीतिक सडक आयोजनाको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ। आयोजना सुरु भएको सात वर्ष पुग्न लाग्दा बल्ल पूर्वी खण्डको यात्रा सहज हुने देखिएको छ। यसले पूर्व-पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने हजारौँ यात्रु र ढुवानीका साधनलाई सहज बनाउने अपेक्षा गरिएको छ।