फिल्म घामपानी नेपालभर प्रदर्शनीको तयारी

फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म घामपानी वैशाख १ देखि अल नेपाल रिलिज हुँदैछ। अन्तरजातीय प्रेम कथामा आधारित फिल्ममा नायक दयाहाङ राई र नायिका केकी अधिकारी प्रमुख भूमिकामा छन्। फिल्मबारे केकी भन्छिन् :
फिल्म समीक्षा गर्नु र निर्देशन गर्नु फरक कुरा हुन्। लामो समयदेखि फिल्म समीक्षामा सक्रिय दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा काम गर्न पाउनु मेरा लागि ठूलो कुरा हो। फिल्म सुटिङको दौरान फिल्म समीक्षा र निर्देशकका चुनौतीबारे छलफलसमेत हुने गरेको थियो। निर्देशकको रूपमा पहिलो पटक देखिन लाग्नु भएको लामाको निर्देशन क्षमताबाट प्रभावित छु।

फिल्म युनिटमा नायक दयाहाङ राईले ुघामपानीुको प्रमोसन नेपालमा र मैले अष्ट्रेलियामा फिल्मको प्रमोसन गर्ने सल्लाह गरेका हौं। केही समयअघि नै रिलिज हुनुपर्ने फिल्म ुलभ सासाु एक्कासी प्रिमियर गर्नुपर्ने भएकाले हल्का व्यस्त भएकी हुँ। अष्ट्रेलियाको मेल्बर्न र सिड्नीलगायत पाँच सहरमा फिल्म रिलिज हुँदैछ। यहाँ पनि घामपानीुको प्रचारप्रसारमा सक्रिय छु।

नेपाली फिल्म क्षेत्रमा राम्रो भनिएको समीक्षकले निर्देशन गरेको फिल्मको हिस्सा हुन पाएकी छु। त्यसबाहेक अभिनेता दयाहाङ राईसँग पहिलो पटक एकैसाथ काम गर्ने अवसर मिलेको छ। फेरि अन्तरजातीय कथालाई मनोञ्जनात्मक शैलीले प्रस्तुत गरिएको फिल्ममा काम गर्ने मौका पाएको छु। मैले अभिनय गरेको फिल्ममध्ये ुघामपानीुमा राम्रो अभिनय देखाएकी छु। त्यसकारण पनि यो फिल्म मेरो करियरका लागि महत्वपूर्ण बनेको छ।
अन्तरजातीय कथावस्तु नेपाली समाजको लागि नौलो होइन। नेपाली समाजले बिस्तारै अन्तरजातीय विवाहलाई स्वीकार्न थालिसकेको अवस्थामा फिल्मले अन्तरजातीय कथावस्तुलाई मनोञ्जनात्मक शैलीले प्रस्तुत गरेको छ। अहिले मनोञ्जनात्मक शैलीका कथावस्तुमा काम गरिरहेकी छु। त्यसले गर्दा अभिनयमा केही सुधार आएको अनुभव गरेकी छु। यो बाहेक कथावस्तु छनोटमा ध्यान दिन थालेकी छु।

चैत ३० गते ।