अमेरिकाव्दारा अफगानिस्तानमा हालसम्मकै सबैभन्दा शक्तिशाली बम प्रहार,दर्जनौँ मारिए

अफगानिस्तान । अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट समूहविरुद्ध हालसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ। पेन्टागनले अहिलेसम्म कुनै पनि द्वन्द्वमा प्रयोग गरेमध्येको सबैभन्दा शक्तिशाली उक्त बमको शक्ति ११ टन टिनटी बराबर भएको बताइएको छ।
मदर अफ अल बम्स भनिने उक्त बम इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुलाई लक्षित गरी पूर्वी अफगानिस्तानको नाङ्गहार प्रान्तमा खसालिएको थियो।
एक जना स्थानीय गभर्नरले बिस्फोटन भएको ठाउँमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताए।
अमेरिकी विमानमार्फत अफगानिस्तानको नाङ्गहार प्रान्तस्थित आचिन जिल्लामा झण्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो।
पाकिस्तानी सीमा नजिकै अवस्थित गुफै गुफा रहेको उक्त दुर्गम पहाडी क्षेत्रमा पातलो मानवबस्ती रहेको बताइन्छ।
ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर भन्छन्, हामीले सुरुङ र गुफाहरुलाई निशाना बनायौँ जून इस्लामवादी जिहादीहरुले निर्वाध हिडँडुल गर्न प्रयोग गर्थे र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गरिरहन्थे। अमेरिकाले इस्लामिक स्टेट विरुद्धको लडाईंलाई गम्भिरतापूर्वक लिएको छ र उनीहरुलाई पराजीत गर्न उनीहरुको क्षमता कमजोर बनाउनैपर्छ।
स्थानीय समय साँझको साढे सात बजेतिर प्रहार गरिएको उक्त बम बिस्फोटनको अवाज दुई वटा छिमेकी जिल्लाहरुमा सुनिएको जनाइएको छ।
अमेरिकी अधिकारीले विस्फोटको परिणामबारे केहि बताएका छैनन् तर एक जना स्थानीय अधिकारीले एक जना जिहादी नेताका भाइसहित दर्जनौँ मारिएका छन् ।
एकदमै ठूलो र भूउपग्रह प्रणालीबाट निर्देशित उक्त बम कुनै पनि फौजी कारबाहीमा पहिलो पटक प्रयोग गरिएको ठानिएको छ।
बिशेष किसिमको विमानबाट प्यारेसुट मार्फत खसाइने उक्त बमले ठूलो भूभागमा बिस्फोट गराउने समार्थ्य राख्छ।
बैशाख १ गते ।