वैदेशिक रोजगारीको नाममा नेपाली युवतीहरु यमनमा बिक्री गरिँदै

काठमाडौं । ओमानमा एक लाखभन्दा बढीमा नेपाली युवती बिक्री गरिँदै आएको छ । वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ लिई बिक्री गर्ने गरिएको छ । सो कार्यक्रमा संलग्न एक गिरोहका चार सदस्य पक्राउ परेका छन्। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्‍याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो। यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए।
ब्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्‍याएर हवाईमार्ग हुँदै युवती ओमन पठाउने गरेको बताएका छन्। ‘यसबापत उनीहरुलाई ओमनको दलालले प्रतिमहिला एक लाख ३० हजार रुपैयाँ दिने गरेको खुलेको छ’, चौधरीले भनिन्।

पक्राउ परेकाहरु नेपालमा बसेर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेका महिला खोज्ने, उनीहरुलाई राम्रो कामको प्रलोभनमा पारेर ओमन जान राजी गराउने र राहदानी बनाएर भारतको दिल्लीसम्म पठाउन सक्रिय थिए।
दिल्ली पुगेका महिलालाई हवाई यात्राको टिकट मिलाएर ओमन पठाउने समूह र घरेलु कामदारको आवरणमा बिक्री गर्ने ओमनमा सक्रिय समूहका सदस्य भेटिएका छैनन्।
ब्युरोका अनुसार पक्राउ परेकामध्ये सिन्धुपाल्चोक सीपापोखरीका सरोज भन्ने तोकबहादुरले वैदेशिक रोजगारीमा जान चाहने महिलालाई काठमाडौं ल्याएर होटलमा राख्ने र राहदानी बनाइदिएर दिल्ली पठाउने गर्दै आएका थिए।

झापाका मेदनीले सरोजले पठाएको राहदानी संकलन गर्ने र काठमाडौं–दिल्लीको टिकट मिलाउने काम गर्थे। सिन्धुपाल्चोक मार्मिङका निमाले महिलाको विवरण र राहदानी कुरियर गरेर दिल्ली पठाउने गर्दै आएका थिए ।
वैशाख १५ गते ।