भारतबाट सिमेन्ट आयात रोकिएपछि मेलम्ची खानेपानी आयोजनाको काम बन्द

maitrinews

काठमाडौं । भारतबाट सिमेन्ट आयात रोकिएपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छ ।
यही वैशाख १८ गतेदेखि सरकारले भारतबाट आयातित सिमेन्टको गुणस्तर परीक्षण गर्न थालेपछि आयात बन्द भई आयोजनालाई सिमेन्टको अभाव भएको हो । नेपालको भन्दा सस्तो भन्दै आयोजनाको इटालियन ठेकेदार सीएमसीले भारतबाट सिमेन्ट आयात गर्दै आएको थियो । 
सिमेन्ट आयात बन्द भएपछि आयोजनाको काम प्रभावित भएको खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले बताए । सिमेन्टको कारणले आयोजनाको काम रोकिएपछि निर्धारित समयमा सम्पन्न नहुने उनले बताए । राष्ट्रिय समस्या समाधान समितिको ३९ औं बैठकमा उनले तत्काल सिमेन्ट आयातको बाटो खुला गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । 
यता उद्योग राज्यमन्त्री कन्चनवादे श्रेष्ठले भारतबाट सिमेन्ट आयात नरोकिएको दाबी गरे । “सीमामा गुणस्तर परीक्षण गर्ने भनेपछि सिमेन्ट आयात बन्द भएको हो” उनले भने, “मन्त्रालयले आयात गर्नका लागि रोकेको छैन ।” 
आयोजना आउँदो असोजसम्म सक्ने लक्ष्य लिए पनि विभिन्न कारणले काममा ढिलाइ हँुदा निर्धारित समयमा सम्पन्न नहुने अवस्था आएको छ । हालसम्म आयोजनाको सुरुङ खन्ने काम ५ किलोमिटर बाँकी छ ।
मेलम्चीको रिवर्मादेखि राजधानीको सुन्दरीजलसम्म कुल साढे २७ किलोमिटर लामो सुरुङमध्ये २२ किलोमिटर सम्पन्न भएको छ ।
आगामी असारसम्ममा मेलम्चीको रिवर्मादेखि सुन्दरीजलसम्म साढे २७ किलोमिटर लामो सुरुङको काम सम्पन्न गरी दसैंअगावै यसको तयारी, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल जडान सम्पन्न गर्ने लक्ष्य समितिको छ । ठेकेदारको ढिलाइले यो योजना प्रभावित हुने अवस्था देखिएको छ । 
असोजसम्ममा डिसिन्टिङ वेसिन निर्माण सम्पन्न नभए पनि डीआई पाइपको वाइपास निर्माण गरी पानी पथान्तरणको वैकल्पिक उपाय कार्यान्वयन गरी असोजभित्र उपत्यकामा पानि वितरण गर्ने तयारी समितिको छ ।  
आयोजनाको अनुमानित कुल लागत २३ अर्ब ४५ करोड ८६ लाख रुपैयाँमध्ये हालसम्म साढे १९ अर्ब रुपैयाँ खर्च भएको छ । भौतिक प्रगति ८५ प्रतिशत सकिएको र साढे १४ प्रतिशत पूरा गर्न बाँकी छ । मेलम्चीको दोसो उप–आयोजना अन्तर्गत उपत्यकामा खानेपानी सुधारका लागि पाइप बिछ्याउने काम जारी छ ।