एफबीआईमा नयाँ प्रमुखको खोजी
अमेरिका । अमेरिकी राष्ट्रपति ट्रम्पले भूतपूर्व एफबीआर्इ प्रमुख जेम्स कोमी भन्दा धेरै राम्रो काम गर्ने र एफबीआइको सम्मान फिर्ता ल्याउने मानिसलाई त्यो पदमा नियुक्त गरिने बताउनुभएको छ । ।
वातावरण शान्त भएपछि सबैले आफूलाई धन्यवाद दिने उहाँको भनाइ छ।
कोमीलाई हटाइपछि रिक्त पदमा तुरुन्तै नयाँ उम्मेदवार खोजिने ह्वाइट हाउसले बताएको छ।
हिलरी क्लिण्टनका इमेलमाथि जारी अनुसन्धानका सम्बन्धमा राष्ट्रपति ट्रम्पले कोमीलाई बर्खास्त गरेको अमेरिकी प्रशासनले बताएको छ।
तर कोमीले ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्बन्ध माथि अनुसन्धान गरिरहेका हुनाले उनलाई बर्खास्त गरिएको डेमोक्रयाटहरु बताउँछन्।
रुससंग सहकार्य गरेको आरोप निराधार भएको ट्रम्पले बारम्बार बताउँदै आएका छन्।
गत वर्षको जुलाई महिनामा कोमीले क्लिण्टनले इमेल प्रयोगमा लापरवाही गरेको तर अपराध नगरेको बताएका थिए।
उनले कुनै अभियोजन नलगाइ सो मुद्दा बन्द गरिनुपर्ने बताएका थिए तर नोभेम्बर महिनामा निर्वाचनको ११ दिन अघि उनले क्लिण्टनका थप इमेलहरु भेटेको भन्दै अनुसन्धान फेरि शुरु गरेका थिए।
निर्वाचनमा आफ्नो हारका लागि क्लिण्टनले केही मात्रामा कोमीलाई पनि दोष दिएकी छिन्।
वैशाख २८ गते ।