काभ्रेमा राप्रपाका उम्मेदवार मृत भेटिए

बनेपा । वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा उठेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको मृत्यु भएको छ।

राप्रपाका तर्फबाट धुलिखेल नगरपालिका वडा नम्बर १२ को वडा सदस्यको उम्मेदवार ५७ वर्षीय सुकलाल तामाङको मृत्यु भएको एसपी सहकुल थापाले जानकारी दिनुभयो।

सुगर र प्रेसरका बिरामी तामाङको घरमै मृत्यु भएको थियो। बिहान अबेरसम्म पनि नउठेपछि कोठामा गएर हेर्दा तामाङ मृत फेला पारेका थिए। उम्मेदवारको मृत्युपछि उक्त वडाको निर्वाचन स्थगित भएको छ।

निर्वाचनको नयाँ तालिका राजनीतिक दलको सहमतिमा तोकिने जिल्ला निर्वाचन कार्यालयका अधिकृत मधुकर पोखरेलले जानकारी दिनुभयो।