मुस्लिम आप्रवासी रोक्ने ट्रम्पको निर्णय कानुनविपरीत
अमेरिका । संयुक्त राज्य अमेरिकाको एक पुनरावेदन अदालतले ६ वटा मुस्लिम बहुल मुलुकका मानिसमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको संशोधित प्रस्ताव रोक्ने आदेशलाई सदर गरेको छ।
हवाई राज्यले दायरा गरेको मुद्दामाथि सुनुवाई गर्दै पुनरावेदन न्यायाधीशहरुले राष्ट्रपतिको कार्यकारी आदेशबाट विद्यमान आप्रवासनसम्बन्धी कानूनको उल्लंघन भएको ठहर गरेका हुन्।
अदालतको पछिल्लो निर्णय मुस्लिमहरुको प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको प्रयासमाथि थप कानूनी झट्का भएको बताइएको छ।
महान्यायाधिवक्ता जेफ सेसन्सले अदालतको निर्णयप्रति आफू असहमत रहेको बताएका छन्।
उनले भने, ूमुलुकलाई सुरक्षित राख्न आफ्नो कानूनी दायराभित्र रही राष्ट्रपति ट्रम्पले जारी गरेको आदेश सही छ। पछिल्ला आक्रमणहरुबाट हाम्रो मुलुकका लागि पनि खतरा निकट र वास्तविक रहेको पुष्टि भएको छ।ू