राजपा कार्यकर्ताव्दारा एमाले सांसद साह, काँग्रेस उम्मेदवारको गाडीमा ढुंगामुढा

maitrinews

 

बर्दिबास । महोत्तरी क्षेत्र नम्बर ५ का नेकपा एमालेका सांसद दिपनारायण साह सवार गाडीमाथि राजपा नेपालका कार्यकर्ताले मंगलबार बिहान महोत्तरीको औरही गाउँपालिका १ मा ढुंगामुढा गरेका छन् । बिहानैदेखि बर्दिबास औरही जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा सडक बन्द गरिरहेका राजपाका कार्यकर्ताले सांसद सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुङ्गमुढा गरेका हुन् ।
निर्वाचनको विरोध गर्दै आएको राजपाले मंगलवारदेखि असार २ गतेसम्म तराईमधेस बन्दको घोषणा गरेको पहिलो दिन बन्दमा गाडी चलाएको भन्दै राजपाका कार्यकर्ताहरुले सांसद साह सवार गाडीमा ढुङ्गमुढा प्रहार गरेका छन् । ढुंगामुढाले ड्राइभर अगाडीको सिसा फुटेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।
आफ्नो निर्वाचन क्षेत्र सम्सी हुदैं रामगोपालपुरबाट औरहीतिर आउँदै गर्दा औरही बजारमा सांसद साहमाथि राजपाका कार्यकर्ताले हमला गरेका छन् । सांसद साहलाई मधेश विरोधी एमालेको नेता रहेको भन्दै राजपाका कार्यकर्ताले सडकमै गाडीको सीसा फुटाएका हुन् ।
सांसद सवार गाडीका चालकले तीब्र गतिमा भगाएर ज्यान जोगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ुहाम्रो गाडीलाई आन्दोलनकारीले बाटोमै छेके । गाडी नरोकी आन्दोलनकारी छल्दै बर्दिबास पुगें ।
आन्दोलनकारीको आक्रमणपछि थप आक्रमणबाट बच्न सांसद साह औरहीबाट १५ मिनेटमै गाडीको साईरन बत्ति बाल्दै गाडी भगाएर इलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षाको लागि पुगेका थिए ।

काँग्रेस उम्मेदवारको गाडीमा तोडफोड

2017-06-13 10:56

कोहलपुर (बाँके), ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको छ ।

नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

गाडी तोडफोड गर्ने रौनियारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पुरैनाबाट फर्कदै थिएँ, अकस्मात् गाडीको झन्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताउनुभयो । गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।

यसैबीच, प्रमुखका उम्मेदवार डा कनोडियाले निर्वाचनमा हिंसा र तोडफोड नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “स्वस्थ प्रतिस्पर्धामा आउनुस्, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबै दलको जिम्मेवारी हो, जनताले जसलाई मन पराउँछन्, उसैलाई मतदान गर्छन् ।”