इस्लामिक स्टेटव्दारा मोसुलको ऐतिहासिक मस्जिद र मिनार ध्वस्त

मोसुल । इस्लामिक स्टेटले इराकको ऐतिहासिक अलनुरी मस्जिद र यसको शताब्दीऔँ पुरानो मिनारलाई ध्वस्त बनाइदिएको अमेरिकी र इराकी सेनाले जनाएका छन्।
तीन वर्षअघि आफ्नो शासन क्षेत्र घोषणा गरेपछि इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादी उक्त मस्जिदमा सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए।
आकाशबाट लिइएका तस्वीरहरुमा उक्त मस्जिदको अधिकांश हिस्सामा क्षति पुगेको र मस्जिद भित्रको स्तम्भ ढलेको देखिएको छ।
इराकी प्रधानमन्त्री हैदर अल अबादीले उक्त मस्जिदलाई भत्काएर इस्लामिक स्टेटले आफ्नो पराजय स्वीकार गरेको बताए।
अमेरिकी सेनाले उक्त घटनालाई मोसुल र इराकका नागरिकमाथिको अपराध भनेको छ।
अमेरिकी हवाई आक्रमणका कारण मस्जिद भत्किएको भन्ने जिहादीहरुको आरोपको पनि उसले खण्डन गरेको छ।
उक्त मस्जिदलाई मोसुलको सबैभन्दा विशिष्ट किसिमको सम्पदा मानिन्थ्यो।