परिणामबाट असन्तुष्ट त छैन तर यो भन्दा राम्रो अपेक्षा गरेका थियौँ —प्रदीप ज्ञवाली ,सचिव, नेकपा (एमाले)

 


नेकपा (एमाले) सचिव प्रदीप ज्ञवाली प्रष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँ एमाले भित्र वौद्धिक नेताका रुपमा पनि परिचित हुनुुहुन्छ । अहिले स्थानीय निर्वाचनपछि निर्वाचन विरोधीहरुको शक्ति क्षीण भएको विश्लेशण गर्ने ज्ञवाली प्रदेश र केन्द्रीय निर्वाचनमा पनि एमाले नै पहिलो शक्ति बन्ने दाबी गर्नुहुन्छ । ज्ञवालीसँग यी नै विषयमा केन्द्रित भएर मैत्रीन्युज डटकमले गरेको कुराकानीः

स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । मतपरिणाम पनि आउने क्रम जारी छ । अहिलेसम्म आएको मत परिणामलाई एमालेले कसरी लिएको छ ?

अहिले जुन ढंगले मतपरिणाम सार्वजनिक भएको छ । यसलाई नराम्रो त भन्न मिल्दैन । तर, हामीले यो भन्दा राम्रो अपेक्षा गरेका थियौँ । अहिले कांग्रेस–माओवादीले विभिन्न ठाउँमा गरेका तामलेल सत्ता र स्रोतको दुरुपयोग जस्ता कुराले पनि धेरै ठाउँमा चुनाव प्रभावित भएको छ । उनीहरुले एमालेलाई पराजित गर्ने ढंगले गरेका तालमेलले बाबजुद पनि एमालेले जुन परिणाम हात पारेको छ । यो सकारात्मक छ ।

प्रदेश नम्बर दुईको निर्वाचन भएको छैन । तर, प्रदेश नम्बर ए.१, ५ र ७ को तराईका जिल्लाको चुनावी परिणामलाई हेर्ने हो भने मधेसमा एमाले केही कमजोर देखिएको हो कि भन्ने पनि चर्चा छ नि ?

अहिले नै त्यस्तो आँकलन गर्ने बेला भएको छैन । अहिले दोस्रो चरणमा एक महानगरपालिका र ७ उपमहानगरपालिकाको मतगणनाको अन्तिम परिणाम आएको छैन । महानगरको त मतगणना प्रारम्भीक चरणमै छ । त्यसैले अहिले नै यसो भैहाल्छ भन्ने अवस्था छैन । हामी बहुमत उपमहानगरपालिकामा जित्छौँ भन्ने आँकलन छ । अहिलेसम्मको अवस्थाले पनि त्यही देखाएको छ ।

जहाँसम्म तराईमा एमाले कमजोर देखियो भन्ने कुरा छ । त्यसमा सत्यता छैन । दोस्रो चरणमा भएका निर्वाचनमा राजपाले सहभागी नभएको भने पनि धेरै ठाउँमा स्वतन्त्र उम्मेदवार उठाएको छ । उनीहरुसँग पनि एमालेको बहुआयमिक प्रतिष्पर्धा भएको छ । यद्यपि एमाले कमजोर भने छैन ।
प्रदेश नम्बर दुईमा चाहिँ एमाले पोजिसन ?

प्रदेश नम्बर दुईमा पनि एमाले पहिलो पार्टी बन्छ । प्रदेश नम्बर दुईका जनताले मधेसको विकास गर्ने पार्टी एमाले मात्रै हो भन्ने राम्ररी बुझेका छन् । मधेसी जनताको हकहितमा काम गर्ने पार्टी एमाले हो भन्ने पनि त्यहाँका जनतालाई राम्रो हेक्का छ । कतिपय स्थानमा एमालेलाई गतिविधि गर्न समेत निस्तेज गरिएको थियो । ती सबै भ्रम अहिले विस्तारी चिरिदैँ गएका छन् । प्रदेश नम्बर २ का जनता निर्वाचनमार्फत स्थायीत्व चाहन्छन् । आन्दोलनका नाममा भएका गतिविधिबाट मधेसका जनता आजित भएका छन् । अब आन्दोलन पुग्यो । विकास गरौँ भन्ने मत मधेसमा वलियो बन्दै गएको छ । त्यसैले अब मधेसमा एमाले हराउने होइन पहिलो शक्तिका रुपमा उदाउने निश्चित भएको छ ।
अहिले प्रदेश नम्बर दुईका जनता असोज २ कहिले आउँछ भनेर प्रतिक्षामा बसेका छन् । उनीहरु जसरी पनि निर्वाचनमा भाग लिने र मताधिकार प्रयोग गर्ने चाहनामा छन् । अब कुनै पनि बाहनामा प्रदेश नम्बर दुईको निर्वाचन सर्ने छैन । असोज दुईमा हुने निर्वाचनपछि एमाले प्रदेश नम्बर दुईबाट पनि पहिलो पार्टी बन्नेछ ।

एमालेले अहिले जुन सफलता प्राप्त गरेको छ । त्यसको प्रमुख कारण के–होला ?

हरेक पार्टीलाई सफलता प्राप्त गर्नका लागि पार्टीको एजेण्डा, संगठनात्मक सञ्जाल र उम्मेदवारको लोकप्रियता आवश्यकता पर्छ । एमाले एजेण्डाका हिसावमा सबै भन्दा शक्तिशाली देखिएको छ । एमालेले उठाएको राष्ट्रियताको एजेण्डा र कांग्रेस–माओवादीका लम्पसारवादी चरित्रका कारण स्थानीय निर्वाचनमा एमालेलाई धेरै हदसम्म फाइदा भएको छ । राष्ट्रियताका पक्षमा बलियो अडान भएको पार्टी एमाले मात्र हो भन्ने हेक्का आम नेपालीमा परेको छ । म फेरि पनि भन्न चाहन्छु– एमाले राष्ट्रियताका एजेण्डामा सबै भन्दा शक्तिशाली छ । आम नेपाली मतदाताले एमालेप्रति देखाएको सद्भाव त्यसैको परिणाम हो ।
दोस्रो भनेको संगठनात्मक सञ्जाल हो । एमाले संगठनात्मक सञ्जालमा पनि अलोकप्रिय पार्टी होइन । गाउँगाउँदेखि शहरशहरसम्म एमालेको संगठनात्मक सञ्जालले पनि धेरै काम गरेको छ । एमालेले उम्मेदवार छनोट विधि विशिष्ठ खालको बनाएको थियो । जनताका बीचमा लोकप्रिय, संगठनप्रति जिम्मेवार भएर क्रियाशील ढंगले काम गरेको व्यक्तिलाई हामीले उम्मेदवार छनोट गर्ने विधि बनाएका थियौँ । त्यसले पनि धेरैहदसम्म काम गरेको छ ।

तर, उम्मेदवारी छनोटका क्रममा केही कमीकमजोरी भए । जसका कारण एमालेले धेरै स्थानमा हार व्यहोर्नू परेको हो भन्ने पनि आरोप छ नि ?

मैले अघि पनि भने हामीले उम्मेदवार छनोट विधिलाई निकै व्यवस्थित बनाएका थियौँ । जिल्ला, प्रदेश र केन्द्रसम्मको प्रत्यक्ष सहभागितामा हामीले उम्मेदवार छनोट गरेका हौँ । उम्मेदवार छनोटलाई सबै भन्दा जिल्ला तहबाटै नभए प्रदेश र अन्तिममा मात्र केन्द्रसम्म ल्याउने विधि बनाएका कारण धेरैहदसम्म पारदर्शि ढंगले उम्मेदवार छनोट भएको छ । यद्यपि कुनैकुनै ठाउँमा मानवीय त्रुटि भएका छन् वा हुन सक्छन् । त्यसलाई सबै बर्बात भयो भन्नु हुँदैन । २० वर्षदेखि स्थानीय निर्वाचन भएको थिएन । २० वर्षदेखि निर्वाचन नहुँदा पुरानो पुस्ताले एक पटक मैले अवसर पाउनुपर्छ भन्ने र नयाँ पुस्ताले अब पनि हामीले नपाए कसले पाउँने ? भन्ने बीचको सन्तुलन नमिल्दा पनि कतिपय ठाउँमा समस्या भएको छ । यद्यपि ती कुरालाई पनि हामीले सकेसम्म मिलाउने प्रयास गरेका छौँ ।
एमाले भित्र चरम गुट छ । महाधिवेशनको गुटकको राग अझै हराएको छैन । निर्वाचनमा त्यो प्रत्यक्ष देखिने छ भनेर हल्ला गर्नेहरुको ठूलो पङ्क्ति थियो । तर, हामीले ती सबै भ्रमलाई चिर्दै एकतावद्ध ढंगले चुनावी मैदानमा ओर्लिएपछि धेरैको सातो गएको छ । उनीहरु एमाले एक भएको देखेर आत्तिएका छन् । एमालेको विभाजनमा आफ्नो जित देख्नेहरुका लागि पनि यो निर्वाचन गतिलो झापड भएको छ ।
म सबै भन्दा पहिला त एमालेलाई एकतावद्ध बनाउन र निर्वाचन बाहेक अरुतिर ध्यान नदिने आम एमाले कार्यकर्तालाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले रातदिन नभनी एमालेलाई जिताउने बाहेक केही नसोची खट्नु भएकै कारण अनेकखाले चुनौतीका बीचमा पनि एमालेले चुनाव आफ्नो पक्षमा पार्न सफल भएको छ । यो खुशीको कुरा हो ।

स्थानीय निर्वाचनसँगै अब संविधान कार्यान्वय हुन्छ भन्ने संकेत देखिएको हो ?

कांग्रेस–माओवादी निर्वाचन गर्ने र संविधान कार्यान्वयन गर्ने पक्षमा थिएन । मधेसी दलहरु त झन निर्वाचनका पक्षमा हुने कुरै भएन । उनीहरु सबै देशमा अशान्ति होस्, विभिन्न बाहनामा निर्वाचन नहोस् भन्नेमै थिए । तर, एमालेको निरन्तर दबाबका कारण उनीहरु निर्वाचनबाट भाग्न सकेनन् । मेची–महाकाली राष्ट्रिय अभियान दबाबकै एक पाटो थियो । दिनरात निर्वाचनको विपक्षमा रहेर आन्दोलनको रोटी तताउनेहरु पनि अहिले निर्वाचनबाट भाग्ने अवस्थामा छैनन् । निर्वाचन विरोधीहरुको शक्ति क्षीण भएको छ । चरण–चरणमा निर्वाचन गर्ने, अस्थिरता सिर्जना गर्ने, जबरजस्ती आफ्नो पक्षमा निर्वाचन पार्ने जस्ता खेलोमेलोमा लागेकाहरु पनि अहिले निराश बनेका छन् । अब प्रदेश र केन्द्रको निर्वाचन नगरी हुन्न । निर्वाचनबाट भाग्नुहुन्छ भन्ने हेक्का उनीहरुलाई भएको छ ।
स्थानीय निर्वाचनपछि अब प्रदेश र केन्द्रको निर्वाचन गर्न पनि सहज भएको छ । एमालेकै जोडबलमा निर्वाचन भएको र संविधान कार्यान्वयनको दिशामा गएका कारण अबका निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्ने निश्चित बनेको छ ।