उत्तर कोरियाव्दारा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण , दक्षिण कोरियामा आपतकालीन बैठक

maitrinews

 

उत्तर कोरिया । उत्तर कोरियाले सी अफ जापानमा अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
परीक्षण गरिएको क्षेप्यास्त्रको प्रकृतिबारे थप थाहा हुन नसकेको बताइएको छ।
उत्तरी प्योङगान प्रान्तबाट स्थानीय समय अनुसार बिहान ९ बजेर ४० मिनेटमा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ।
जापानले दावी गर्दै आएको जलक्षेत्रमा क्षेप्यास्त्र खसेको त्यहाँको रक्षामन्त्रीलाई उद्धृत गर्दै जापानको एनएचके न्यूजले जनाएको छ।
प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको केही समयअघि मात्रै संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूतले शक्ति राष्ट्र तथा उत्तर कोरियाबीचको तनाव अन्त्य नभए भयावह परिणाम निम्तिन सक्ने चेतावनी दिएका थिए।
जी २० सम्मेलनका लागि विश्व नेताहरु जर्मनीमा भेला हुन लागेको केही दिनअघि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको खबर सार्वजनिक भएको छ।
सो खबरपछि दक्षिण कोरियाका राष्ट्रपति मून जे(इनले देशको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।