लगातार चार दिनको गिरावटपछि झिनो अङ्कले सम्हालियो सेयर बजार

काठमाडौँ, ३ असार । लगातार चार कारोबार दिनदेखि ओरालो लागिरहेको सेयर बजारमा बुधबार झिनो अङ्कले सम्हालिएका छन् । नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएसँगै बजार अघिल्लो दिनकै आसपासमा सम्हालिएकाे हो ।

बुधबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२० अंक घटेकोे छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।

परिसूचक स्थिर रहे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । मंगलबार ४ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ३ अर्ब ६१ करोड रुपैयाँमा खुम्चिएको छ । आज कुल १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य भने यथावत् रह्यो ।

आज बजारका अधिकांश उपसमूह राताम्मे रहे पनि गिरावट दर १ प्रतिशतभन्दा कमै छ । बैंकिङ ०.१८, होटल तथा पर्यटन ०.६४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.५५ र व्यापार समूह ०.६० प्रतिशतले घटेका छन् । त्यस्तै उत्पादन तथा प्रशोधन, लगानी, हाइड्रोपावर र फाइनान्स समूह पनि ओरालो लागे । आज विकास बैंक समूहमा मात्रै ०.४६ अङ्कको सामान्य सुधार देखिएको छ ।

आजको बजारमा दुई नयाँ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस वृद्धिसँगै सोपानको मूल्य प्रतिकित्ता ८०८.५० र एपोलोको ६९२.७० रुपैयाँ पुगेको छ ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ४.२४ प्रतिशतले बढ्दा दोल्ती पावरको ३.३५ र कालिन्चोक हाइड्रोपावरको मूल्य २.६१ प्रतिशतले घटेको छ । आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रह्यो । यसका साथै रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुङ्गल हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीको सेयर सर्वाधिक खरिद–बिक्री भएको छ ।