काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको बन्दोबस्त मिलाउन सांसदहरूको माग, सभामुखको तटस्थतामाथि प्रश्न

काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काठमाडौँका विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखिएका सुकुम्बासीहरूको उचित बन्दोबस्त गर्न र उनीहरूमाथि मानवोचित व्यवहार गर्न सरकारसँग माग गरेका छन्। बैठकको प्रारम्भमै सभामुखसँग समय लिएर बोल्दै सांसदहरूले सुकुम्बासीको व्यवस्थापन, राष्ट्रियता, सीमा सुरक्षा र प्रधानमन्त्रीको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने लगायतका जनसरोकारका विषय उठाएका हुन्।

बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको उचित बन्दोबस्ती र बसोबासको दीर्घकालीन व्यवस्था गर्न माग गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पुनः आग्रह गर्नुभयो।

नेकपा (एमाले) का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तामा नेपाली भूमि मिचिएको चर्चा गर्दै देशको भूगोल रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूमाथि राज्यबाट मानवोचित व्यवहार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संविधानअनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने व्यवस्था स्मरण गराउँदै प्रधानमन्त्रीले सीमा विवादबारे संसद्‌मै आएर आफ्नो बोली सच्याउनुपर्ने र यसबारे सभामुखबाट स्पष्ट ‘रुलिङ’ हुनुपर्ने अडान राख्नुभयो। उहाँले कतिपय मन्त्रीहरूले सार्वजनिक रूपमा गैरजिम्मेवार अभिव्यक्ति दिइरहेको भन्दै उनीहरूलाई जिम्मेवार बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले पनि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गर्दै त्यसलाई तत्काल सच्याउन माग गर्नुभयो।

छलफलकै क्रममा सांसद चन्द्रमोहन यादवले संसद्को गरिमा जोगाउन सभामुख दलभन्दा माथि उठेर स्वतन्त्र भूमिकामा हुनुपर्ने उल्लेख गर्दै वर्तमान सभामुख डोलप्रसाद अर्यालले आफ्नो मातृदल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद गर्न नसकेको हो कि भनी प्रश्न उठाउनुभयो।

यादवको यस भनाइप्रति सत्तासीन रास्वपाका सांसद गणेश कार्कीले तत्काल नियमापत्ति (प्वाइन्ट अफ अर्डर) गर्नुभएको थियो। त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *